
फाइल फोटो
बैठकको विशेष समयमा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले स्थानीय तह वा निकाय जुनसुकै संरचनामा भएपनि निर्वाचन गराउन माग गर्दै संविधान संशोधन प्रस्तावसँगै निर्वाचनको वातावरणमा मुलुकलाई केन्द्रित गराउनुपर्नेमा जोड दिए ।
वरिष्ठ नेता पौडेलले भने–‘स्थानीय निर्वाचन नगरी सुरुमा केन्द्रीय निर्वाचन गर्ने कुरा हुन सक्दैन । स्थानीय, प्रदेशको निर्वाचन गरेर केन्द्रीय निर्वाचन गर्नुपर्छ ।’
उनले स्थानीय निकाय पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदन यथावस्थामा कार्यान्वयन हुन पनि नसक्ने स्पस्ट गर्दै प्रतिवेदनमा मधेसी, जनजाति, दलित र उत्पीडित असन्तुष्ट भएकाले समावेशीता र लोकतन्त्रको मान्यता अनुकूल सम्बोधन हुनुपर्ने बताए ।
नेकपा एमालेका भीमबहादुर रावलले सरकारले मन्त्री पद र संविधान संशोधनलाई साटासाट गरेको आरोप लगाउँदै निर्वाचन घोषणा नहुनु र ‘राष्ट्रियताका प्रतिकूल गतिविधि’ हुनाका कारणबारे प्रधानमन्त्रीले सदनमा स्पस्ट पार्नुपर्ने माग गरे ।
उनले स्थानीय निकाय पुनःसंरचनाको प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै चाँडो निर्वाचनको मिति तोक्न आग्रह गरे ।
उनले खुलारुपमा देश विखन्डन गर्नेजस्ता कानुन र कूटनीतिक मर्यादाविपरीतका गतिविधि भइरहेको बताउँदै सरकारले यसमा ध्यान नदिएको आरोप पनि लगाए ।
नेकपा माओवादी केन्द्रका रामनारायण बिंडारीले संविधान संशोधन गर्ने मूल थलो सदन नै भएकाले त्यसलाई कसैले रोक्न नहुने विचार राखे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुराम तामाङले स्थानीय निकाय नहुँदा जनता समस्यामा परेकाले छिटोभन्दा छिटो निर्वाचन हुनुपर्ने माग गरे ।
राष्ट्रिय जनमोर्चाका मीना पुनले सरकारले छिटोभन्दा छिटो स्थानीय निर्वाचनको कार्यतालिका ल्याउनुपर्ने बताइन् ।
विशेष समयमा नरसिंह चौधरी, प्रेम सुवाल, गंगा चौधरी सत्गौवा, जनकराज जोशी, पुरुषोत्तम पौडेल, उमेशकुमार यादव, अनन्तप्रसाद पौडेल, भरतकुमार शाह र हर्कबोल राईले पनि भाग लिए ।
त्यसअघि, शून्य समयमा कांग्रेसका रामहरि खतिवडाले संविधान कार्यान्वयनका लागि कार्यतालिका बनाएर अघि बढ्न माग गरे ।
एमालेका रामेश्वर फुयाँलले काठमाडौंका भत्किएका र धुले सडक चाँडो मर्मत गर्न माग गरे । बैठक जारी छ । रासस
प्रतिक्रिया दिनुहोस्