१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


नेपाल चिकित्सक संघद्वारा विरोधका कार्यक्रम घोषणा


0
Shares

काठमाडौं, असार २२ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै १५औंपटकको अनशनमा बसेका डा. गोविन्द केसीको माग पूरा गराउन माग गर्दै नेपाल चिकित्सक संघले विरोधका कार्यक्रम अघि सारेको छ ।

संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शुक्रबारैदेखि देशभरका सबै स्वास्थ्य संस्थामा कालोपट्टी बाँधेर काम सुरु गर्ने जनाएको हो ।

असार २४ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र ज्ञापनपत्र बुझाएको ७२ घन्टासम्म पनि माग सम्बोधन नभए थप विरोधका कार्यक्रम ल्याउने जनाइएको छ ।

चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले डा. केसीको मागबारे सरकारले थाहै नपाएजस्तो गरी बस्न नमिल्ने बताए ।

चिकित्सा क्षेत्र सुधारको पक्षमा चिकित्सक संघको सहमति रहेको भन्दै अध्यक्ष डा. श्रेष्ठले चिकित्सा शिक्षा सुधार प्रतिवेदनले दिएको सुझाव नै  तीन वर्ष भइसकेकाले अब सरकारले समय सन्दर्भअनुसारको ऐन बनाउनुपर्ने बताए ।

उता, डा. केसीको स्वास्थ्य अवस्था भने खस्कँदै गएको उनको उपचारमा संलग्न चिकित्सक डा. प्रविनकुमार गिरीले जानकारी दिए ।

डा. केसीको रोगसँग लड्ने क्षमता कम हुँदै गएको भन्दै उनले ‘इन्फेक्सन’ हुनबाट बचाउनुपर्ने चुनौती रहेको बताए ।