
-टेकराज अवस्थी, ईमेज
डडेल्धुराको असिग्राम गाविसमा रहेका १४ घरधुरी मुक्त हलियाले स्थानीय गौचर वनलाई शान्ति कबुलियती वनको रुपमा प्रयोग गर्दै आँएका छन् । तर पनि उनीहरुलाई जीविकोपार्जनको पिरले सताएको छ ।
डडेल्धुराको असिग्राम–९ भेटालगायतका गाउँमा हलेटी र घरायसी काम गर्दै आएका हलिया परिवारका घर २०६६ सालमा आएको बाढी र पहिरोले पुरिएसँगै जंगलमा बस्न बाध्य भएका थिए ।
सात वर्षदेखि जंगलमा बसेका हलिया परिवारको न त राम्रो घर छ, न घर धान्ने आर्थिक अवस्था नै । मुक्तिको घोषणाबाट खुशी भएका हलियाको न्यायिक पुनस्र्थापना नहुँदा उनीहरुलाई सपनाको खिर जस्तै भएको छ ।
पहिरोबाट पीडित भएका हलिया परिवारलाई पुनस्र्थापना नहुन्जेलसम्म पाँच वर्षका लागि सामूहिक रुपमा तीन हेक्टर कबुलियती वनमा राखिएको थियो ।
तर, कबुलियति वनसँगको आवधिक सम्झौताभन्दा पनि स्थायी पुनस्र्थापना हुनुपर्ने मुक्त हलिया छविलाल दमाई बताउँछन् । सरकारले मुक्त घोषणा मात्र गरेको तर पुनस्र्थापना नगरेकोमा उनीहरु चिन्तित छन् ।
आफूहरुका आधारभूत आवश्यकता पूरा गर्न सरकारले कुनै चासो नदेखाएकाले मुक्त भएको महसुससमेत गर्न नपाएको मुक्त हलिया बसन्तीदेवी दमाई बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्