धुर्मुस-सुन्तलीले थालेकोे मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा « Image Khabar


धुर्मुस-सुन्तलीले थालेकोे मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा


Imagekhabar
८ माघ २०७३, शनिबार १४:३४

१२ दिनमा १५ प्रतिशत काम सम्पन्न भएको छ । पुस २५ गते महजोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गंगासागर पोखरी (जनकपुर)का सरसफाइ अभियन्ता रामअशिष यादवले शिलान्यास गरेको बस्तीको निर्माणकार्यमा झन्डै ३०० कामदार दैनिक खटिएका छन् ।

हालसम्ममा बस्तीमा निर्माण हुने ५० ओटा घरमध्ये ४० ओटा घरको जग खनिसकिएको छ । ३२ ओटा घरको जग उठाउने कार्यसम्पन्न भइसकेको छ ।

पिलिन्थ लेवलसम्मको पाँचओटा घरको निर्माणकार्य सकिएको धर्मुस– सुन्तली परियोजनाका संयोजक अर्जुनप्रसाद न्यौपानेले बताए ।

श्रमदान र आर्थिक सहयोगको लागि उत्साहित युवापुस्ता, संघ–संस्थाका पदाधिकारी आउनेक्रम जारी छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीलेसमेत श्रमदान र सुरक्षा दिने गरेका छन् ।

बर्सौंदेखि रोग, भोक, अशिक्षा, अनिद्रा र विकासबाट बहिस्करणमा परेका मुसहरको आफ्नो घर बन्न लागेपछि उत्साहित देखिएका उनीहरु दिनहुँ झन्डै एक सय मुसहर श्रमदानमा खटिएका एकीकृत नमुना मुसहर बस्तीका उपभोक्ता समितिका अध्यक्ष मञ्जय सदा मुसहरले बताए ।

‘दाउरा लिन जाने काम छाडेर हुलका हुल गाउँले बस्ती निर्माणमा श्रमदान गरिरहेका छन्’–उनले भने–‘कोही सिमेन्ट घोल्छ । कोही बालुवा, ढुंगा, गिट्टी ओसार्छन् । यी र यस्ता कार्य गरेर हामी बस्ती निर्माण श्रमदान गरिरहेका छौं ।’

‘मुसहरहरुले आफूहरुको जीवन फेरिन्छ भनेर सपना पनि देखेका थिएनन् । तर, धर्मुस र सुन्तलीजस्ता मायालु मनको सहयोग पाएर मुसहर फुरुंग छन्’–सामाजिक अभियन्ता आरके महतोले भने–‘कोही बाढीपीडित, त कोही भूकम्पपीडित, त कोही आगलागीपीडित सबै पीडितैले राहत र सहयोग पाइरहेका छन् । तर, मुसहरको सन्तान जन्मिने बित्तिकै पीडित भएरै जन्मिन्छ । उनीहरुको पीडा कसैले सुन्दैनन्, बरु हेला गर्छ । मुसहरको लागि धुर्मुस र सुन्तली भगवान भएर मुसहर बस्तीमा पसे । सहयोगी हात भेटिएर बर्दिवासका मुसहरको पुस्तौंपछि उद्धार र राहत मिल्दैछ । ओत लाग्ने घर बन्दै छ । बच्चा स्कुल जाँदैछन् ।’

दैनिक मालिकको ‘जी–हजुरी’ गरेर शोषण, दमन, अन्याय, अत्याचार सहन बाध्य मुसहर त्यो जालबाट सहयोगी हातको सहारामा क्रमशः बाहिर निस्किएर आफ्नो भविष्य खोजिरहेका सामाजिक अभियन्ता महतोले बताए । रासस

प्रतिक्रिया दिनुहोस्