२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


ट्रम्प शासनः अमेरिका, ब्रिटेनमा विरोध, रुसमा दुई रातसम्म खुसियाली, अब के ?


0
Shares

वासिंटनस्थित अमेरिकी कंग्रेस भवन क्यापिटोल हिलमा शुक्रबार बाइबललाई साक्षी राखेर शपथ लिएसँगै शासनसत्ताको बागडोर सम्हालेका उनले पदअनुसार निभाउनुपर्ने भूमिकामाथि भने आशा र आशंका प्रशस्त छन् ।

विश्वको सबैभन्दा शक्तिशाली मुलुकको सर्वोच्च पदमा आसिन ट्रम्पले चुनौतीको चाङ पन्छाउँदै अघि बढ्नुपर्ने अवस्था छ । तर, चुनावी अभियानकाक्रममामात्र नभइ निर्वाचित भइसकेपछि पनि विवादास्पद छवीबाट मुक्त हुन नसकेका कारण उनले बोली र व्यवहारलाई कसरी लगाम दिने हुन्, सर्वत्र चासोको विषय सुरुमै बनेको छ ।

अल्पसंख्यक, मुस्लिम, महिला, आप्रवासी, मेक्सिकोको सीमामा पर्खाल लगाउने, व्यापार, करजस्ता अनगिन्ती मुद्दामा खरोरुपमा उत्रिएका ट्रम्पले घरेलु मुद्दामा पनि ओबामा शासनकालको ‘ओबामा हेल्थ केयर’जस्ता मुद्दालाई विस्थापित गर्ने बताइसकेका छन् ।

सफल रियल स्टेट व्यवसायी ट्रम्प ओबामा शासनकालको विरासतबाट धेरै हदसम्म मुक्त हुने स्पस्ट संकेत देखिएको छ ।

संयुक्त राष्ट्रसंघ, इरान, जलवायु परिवर्तन सम्झौता, नेटो, मध्यपूर्वजस्ता जल्दोबल्दो विषयमा ट्रम्पले नयाँ आयाम दिने जनाइसकेका छन्, आफ्नै शैली र ढंगबाट ।

ओबामा प्रशासनले शत्रुतापूर्ण सम्बन्ध रहेको बताएको रुस र पुटिन अहिले ट्रम्पका सबैभन्दा हितैसी देखिएका छन्, विश्व राजनीतिमा ।

एक चीन नीतिलाई छलफलमा ल्याउन चाहेका ट्रम्पको शासन सुरु हुनुअघि नै चीन उनीसँग चिढिइसकेको छ । यसले कुनैपनि सम्बन्धको कसीलाई ट्रम्पले आफूलाई अमेरिकी फाइदामामात्रै तौलिने व्यापारी हुन् कि भन्ने छनक देखाइसकेका छन्, चाहे त्यो घरेलु होस् वा बाह्य विश्वसँगको सम्बन्ध ।

यसले पनि विश्व राजनीतिमा नयाँ तरंग आउने देखिइसकेको छ, ट्रम्पको मौलिक विदेश र व्यापार नीतिसँगै ।

राष्ट्रपति निर्वाचित भइसकेपछि पनि मुलुकको गुप्तचर निकायमाथि भरोसा गर्न नसकिरहेका ट्रम्पको ‘ट्वीट जुहारी’ कार्यशैली अब कसरी अभिव्यक्त हुन्छ, त्यो पनि हेर्न लायक हुनेछ ।

यद्यपि, उनले सहयोगीको समूहमार्फत् आफ्नो रणनीति र व्यवहारमा प्रस्टता देखाउने माहोल सिर्जना गरिसकेका छन् ।

कसैको अगाडि झुक्न र सानो हुन नजान्ने कडा स्वभावका अमेरिकी ४५औं राष्ट्रपति ट्रम्पको मिडियासँगको सम्बन्ध पनि सहज देखिएको छैन ।

अमेरिकी सपना फिर्ता ल्याउने शपथ खाएका ट्रम्पको चुनावी अभियान अनि राष्ट्रपतिमा निर्वाचित भइसकेपछिमात्र होइन, शपथ लिँदैगर्दा पनि उस्तै देखियो, विरोधको लहर ।

केही कंग्रेस सदस्य र धेरै चर्चित कलाकारले उनको शपथग्रहण समारोह बहिस्कार गरेर उनीसामु विभाजित अमेरिकाको तस्वीर प्रस्तुत् गरेका छन् ।

अमेरिकामामात्र नभइ ब्रिटेन, अष्टे«लियामासमेत ट्रम्पविरोधी प्रदर्शन भएका छन् । रुसमा भने दुई रातसम्म ट्रम्पको पक्षमा खुसियाली मनाइएको छ ।

सायद, कुनैपनि अमेरिकी राष्ट्रपतिले यस्तो स्थितिको सामना गर्नुपरेको यो पहिलोपटक हो ।

तीनपटकसम्म विवाह गरेका ६ फिट ३ इन्च उचाईका ट्रम्पले अहिले आफ्नो जिन्दगीको अकल्पनीय यात्रामा विभाजित अमेरिकी समाजको नेतृत्व लिएका छन् ।

विवादास्पद विगत भएका उनले वर्तमानमा भने अनुभवी र खारिएका राजीतिज्ञहरुलाई हराएर सबै पूर्वानुमानलाई गलत सावित गरिदिएका छन् ।

दोस्रो कार्यकालकोसमेत चाहना राखेका चतुर व्यापारी ट्रम्पले व्यापारमा जसरी सफलता हात पारे, राजनीतिमा पहिलोपटक होमिँदैमा पाएको सुरुआती सफलताले उनको कार्यकालको सफलतालाई इतिहास रच्ने मार्गको पहिलो खुड्किलो सावित भने पक्कै गर्नेछ ।

कुनैपनि राजनीतिक, सैनिक र निर्वाचित संस्थाको नेतृत्व नगरी विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक अमेरिकाको राष्ट्रपति बनेर इतिहास रचिसकेका ट्रम्पले भनेझैं के उनको शासनकालमा अमेरिकाले यसअघि नगरेको विजय सुरु गर्ने छ त ? तर, यसको जवाफ भने भविष्यकै गर्भमा छ । –एजेन्सीको सहयोगमा