
ऊर्जामन्त्री जनार्दन शर्माको सचिवालयकाअनुसार दैनिकजसो नै लगानी प्रतिबद्धता गर्नेको संख्या बढ्दै गएको छ ।
संस्थागतरुपमाभन्दा पनि व्यक्तिगतरुपमा लगानी प्रतिबद्धता गर्नेहरु क्रमशः बढ्दै गएका छन् । आन्तरिकरुपमा जलविद्युत् आयोजनामा कति लगानी जुट्छ भन्ने पत्ता लगाउन मन्त्रालयले गत महिनाबाट नागरिकलाई प्रतिबद्धता जनाउन आग्रह गरेको थियो ।
हालसम्म २४ हजार २४९ जनाले लगानी प्रतिबद्धता जनाएका छन् भने संस्थागतरुपमा २७ ओटा संस्थाले लगानी प्रतिबद्धता जनाएको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संस्थागतरुपमा रु आठ करोड ६१ लाख ७५ हजार लगानीे प्रतिबद्धता आएको छ ।
रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारणलाइनको काम अन्तिम चरणमा
भारतबाट थप विद्युत् आयात गर्नका लागि महत्वपूर्ण मानिएको रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ ।
यसै महिनाको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण भइरहेको छ भने हाल आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत रहेको सो आयोजनाले जनाएको छ ।
वीरगन्ज औद्योगिक कोरिडोरलाई पूर्णरुपमा विद्युत्भार कटौती गर्ने लक्ष्यका साथ प्रसारणलाइन निर्माण गरिएको रक्सौल–परवानीपुर प्रसारणलाइन आयोजनाका प्रमुख लक्ष्मीनारायण मुखियाले राससलाई बताए ।
विद्यमान ३३ केभी प्रसारणलाइनबाट हाल १० मेगावाट विद्युत् आयात भइरहेको छ । नयाँ प्रसारणलाइन निर्माण सम्पन्न भएपछि भारतबाट थप ५० मेगावाट विद्युत् आयात गरिने छ ।
यसले वीरगन्ज औद्योगिक कोरिडोर र आसपासका क्षेत्रलाई पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त गर्ने योजना नेपाल विद्युत् प्राधिकरणको छ ।
आयोजनाको सबैभन्दा विवादित बनेको चारओटा टावरको फाउन्डेसन निर्माण सम्पन्न भएको छ । कुल आठ दशमलव पाँच किलोमिटर क्षेत्रमा तार तान्न बाँकी रहेको छ ।
भारतीय ठेकेदार मोहना इनर्जीले दैनिक दुई सत्रमा काम गरेर भएपनि यसै महिनाको अन्त्यसम्ममा प्रसारणलाइन निर्माणको काम सम्पन्न गर्ने जानकारी आफूलाई दिएको आयोजना प्रमुख मुखियाले बताए ।
परवानीपुर क्षेत्रमा केही स्थानीयवासीले प्रसारणलाइन निर्माणमा अवरोध गर्दा आयोजना केही समय ढिला हुन पुगेको हो । गृह मन्त्रालयले शान्ति–सुरक्षा प्रदान गरेपछि अहिले आयोजनाले गति लिएको छ ।
गत पुस २० गते ऊर्जामन्त्री जर्नादन शर्मा, ऊर्जासचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनास्थलको निरीक्षण गरी तोकिएको समयभन्दा पहिल्यै आयोजना सम्पन्न गर्न निर्देशनसमेत दिइसकेका छन् ।
आयोजनालाई छिटो सम्पन्न गराउन वीरगन्जका उद्योगी–व्यवसायीले पनि सक्दो सहयोग गरेका छन् ।
वीरगन्ज उद्योग वाािणज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले आफूहरुले आयोजना निर्माणका लागि सहजीकरण गरिरहेको र आइपर्ने समस्या समाधान लागि उद्योगी–व्यावसायी लागिपरेको बताए ।
कुशाहा–कटैया निर्माण सम्पन्न हुँदै
यस्तै, अर्को महत्वपूर्ण अन्तरदेशीय प्रसारणलाइन कुशाहा–कटैयाको काम भने लगभग सम्पन्न भइसकेको छ ।
करिब तीन किलोमिटर क्षेत्रमा प्रसारणलाइन स्तारोन्नतिमात्रै गर्न बाँकी रहेको र सो कार्य चार दिनभित्र सकिने सो आयोजनाका प्रमुखसमेत रहेका मुखियाले बताए ।
‘रक्सौल–परवानीपुर प्रसारणलाइनभन्दा केही दिनपहिले कुशाहा–कटैया प्रसारणलाइन निर्माण सम्पन्न हुन्छ । त्यसले नेपालको ऊर्जा आयातमा अर्को महत्वपूर्ण ढोका खोल्नेछ’–आयोजना प्रमुख मुखियाले भने ।
सो प्रसारणलाइनबाट थप ५० मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखिएको छ । आयोजनाको काम भारतीय ठेकेदार कम्पनी मोहना इनर्जीले नै गरिरहेको छ ।
ऊर्जा मन्त्रालयले विशेष चाँसो दिएका कारण आयोजनाले गति लिएको र मुलुकको ऊर्जासंकट समाधानका लागि सहयोगी हुने विश्वास लिएको छ । हाल १३२ केभी क्षमताको प्रसारणलाइन कुशाहा–कटैयाबाट एक सय मेगावाट विद्युत् आयात भइरहेको छ ।
यस्तै, भारतबाट हाल ३४० मेगावाट विद्युत् आयात भइरहेको छ । यही माघ १७ गतेबाट ४० मेगावाट विद्युत् थप आयात हुनेछ । रासस
प्रतिक्रिया दिनुहोस्