२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


विप्लव समूहले प्रतिबन्धको प्रतिकार गर्ने चेतावनी दिएपछि सुरक्षा सतर्कता बढाइयो


0
Shares

काठमाडौं । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि सरकारले देशभरको सुरक्षा सतर्कता र निगरानी बढाएको छ ।

आफूमाथिको प्रतिबन्धको प्रतिकार गर्ने चेतावनी चन्द समूहले दिएपछि सरकारले सुरक्षा सतर्कता बढाएको हो ।

गृहमन्त्रालयले चन्द समूहको आपराधिक गतिबिधि नियन्त्रण र जनतामा सुरक्षाको अनुभूत गराउन देशैभर सुरक्षा सर्तकता उच्च पारिएको जनाएको छ ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले चन्द नेतृत्वको समूहसँगै अन्य समूहबाट पनि आपराधिक क्रियाकलाप हुनसक्ने भन्दै निगरानी बढाइएको बताए ।

प्रवक्ता सुवेदीले विशेष गरी सुरक्षा संवेदनशील मानिएका क्षेत्र र यस्ता समूहका लक्षित स्थानको बिश्लेषण गरी सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिए ।

यसैबीच नेपाल प्रहरीले चन्द समूहका गतिविधिमाथि निगरानी बढाएको जनाएको छ ।

सो समूहले कुनै आपराधिक गतिविधि गरेको गरेमा तत्काल कारबाही गर्ने गरी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

चन्द समूहलाई प्रतिबन्ध लगाइसकेपछि केही सुरक्षा थ्रेट बढेको निष्कर्षसहित प्रहरीले निगरानी बढाएको हो ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले आपराधिक क्रियाकलापमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन तथा व्यक्तिको जीउधन र सार्वजनिक सम्पत्तिको सुरक्षा दिन प्रहरी सक्षम रहेको बताए ।