डिबेटिङ क्लबले आइतबार आयोजना गरेको ‘आजको विद्यार्थी आन्दोलन र शैक्षिक रुपान्तरणका चुनौती’ विषयक विचार गोष्ठीमा बोल्दै विभिन्न संगठनका नेताहरुले त्रिभुवन विश्वविद्यालय सिनेटद्वारा घोषित २८ बर्षको उमेरहदलाई कायम गरेरै निर्वाचन सफल बनाउन आग्रह गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले अहिले मुलुकको राष्ट्रियता र सार्वभौमिकता खतरामा रहेको साथै लोकतान्त्रिक उपलब्धि गुम्ने अवस्थामा रहेको हुँदा यसको जगेर्ना गर्नुपर्ने बताए ।
उनले भने, ‘अहिले विद्यार्थी राजनीतिमा पनि परिमार्जन आवश्यक रहेकाले समय सापेक्ष विद्यार्थीको नेता विद्यार्थी नै भन्ने अवधारणाका साथ उमेर हदबन्दी आवश्यक छ ।’
त्यस्तै अनेरास्ववियूका पूर्व अध्यक्ष खिमलाल भट्टराईले बलियो र सक्षम विद्यार्थी आन्दोलनका लागि उमेर हदबन्दी उचित रहेको बताए ।
तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले आफूले एकदशक अघि देखि नै विद्यार्थी राजनीतिमा उमेर हदबन्दी कायम गरिनुपर्ने धारणा राख्दै आएको स्मरण गरे । उनले भने, ‘उमेर नाघेका साथीहरुलाई हामी तरुण दलमा जिम्मेवारी दिन तयार छौं ।’
नेवि संघका महामन्त्री कुन्दनराज काफ्लेले विद्यार्थी राजनीतिको चुरोकुरो भनेको शैक्षिक उन्नयन र समाज रुपान्तरण रहेको बताए ।
उनले विधी र व्यवस्थामा सुधार गर्दै विद्यार्थी राजनीतिलाई परिमार्जित र परिस्कृत गर्दै अघि बढ्नुपर्ने औंल्याए । महामन्त्री काफ्लेले भने, ‘त्रिवि सिनेटले गरेको निर्णयको स्वागत गर्दछु र निर्वाचनमा होमिन सबैमा आह्वान गर्दछु ।’
नेवि संघका उपसभापति डिल्लीराम सुवेदीले विद्यार्थी राजनीतिले आफ्नो सान्दर्भिकता पुष्टि गर्न निती, संगठन र नेतृत्व तीनवटै आयाममा रुपान्तरित गर्नुपर्ने आवश्यकता औंल्याए ।
अखिल क्रान्तिकारीकी उपाध्यक्ष पञ्चा सिंहले परिवर्तित सन्दर्भमा विद्यार्थीको नेतृत्व विद्यार्थीमै रहनुपर्ने ध्येयका साथ आएको उमेर हदबन्दीको कुरा उचित रहेको बताइन् ।
कार्यक्रममा नेवि संघका केन्द्रीय सदस्य गीता गुरुङ, रत्नहरि ढुंगेल र त्रिवि नेवि संघका नेता शंकर पौडेलले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमका संयोजक तथा नेवि संघका केन्द्रीय सदस्य शैलेन्द्र शर्मा गौडेलले उमेर हदबन्दीको कुराले विद्यार्थी राजनीतिभित्र रहेको विकृती र विसंगतीको अन्त्य गर्ने धारणा राखे । उनले वर्तमान विद्यार्थी पुस्ताको क्षमतामा विश्वास राख्न अनुरोध गरे । कार्यक्रमको सहजीकरण दिवाकर अर्यालले गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्