२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


यस्ता हतियार जसले अमेरिकालाई सदैव दबाब र तनावमा राख्यो


0
Shares

प्रथम विश्वयुद्धपछि सोभियत संघ नै विश्वको सबैभन्दा ठूलो साम्यवादी मुलुक बन्यो ।

तर, दोस्रो विश्वयुद्धपछि अमेरिकासहित केही पश्चिमी मुलुक सोभियत संघको दुश्मन बनिसकेका थिए । यसैका कारण सोभियत संघले आफ्नो सैन्य क्षमता बढाउने र घातक हतियार बनाउने क्रम सुरु गरेको थियो, जसबाट विश्व नै थर्कमान हुने गरेको थियो । सोभियत संघसँग केही यस्ता हतियार थिए जसबाट अमेरिका सँधै दबाब र तनावमा रहँदै आएको थियो ।

सोभियत संघले गोप्य रुपमा १९४० कै दशकदेखि परमाणु बम बनाएको मानिन्छ । तर, सन् १९४५ मा जब अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम खसाल्यो, रुसले अमेरिकालाई देखाउनका लागि ९ अगस्ट, १९४९ मा पहिलोपटक परमाणु बम परीक्षण गरेको हो । उक्त बम अमेरिकाको परमाणु बमभन्दा निकै शक्तिशाली थियो ।

सोभियत संघ र अमेरिकाबीच शीतयुद्धकै समयमा हतियारको होड दुबैतर्फ बढिरहेको थियो । सोही क्रममा सन् १९६० मा सोभियत संघले मस्कोमा एक सैन्य परेड आयोजना गर्‍यो । उक्त परेडमा एउटा भीमकाय क्षेप्यास्त्र पनि प्रदर्शन गरिएको थियो । यसको आकार देखेर नै विश्व थर्कमान भएको थियो । तर आजसम्म उक्त क्षेप्यास्त्रको क्षमता र आकारको खुलासा भएको छैन ।

अमेरिकाबाट बढ्दो खतरालाई ध्यानमा राख्दै सोभियत संघले समुद्रमा पनि आफ्नो शक्ति बढाउन थालेको थियो । उसले समुद्रमै ठूला ट्यांकसहितका जहाज तैनाथ गरेको थियो ।

ट्यांकको दोहोरो प्रयोगको मामलामा पनि सोभियत संघ विश्वमै अगाडि रह्यो । सोभियत संघको रेड आर्मीका इन्जिनियर लेबेदेवले ट्यांकको दोहोरो प्रयोगबारे डिजाइन गरेका थिए । त्यसअघि ट्यांकले जमिनमा मात्र ध्वंस गर्ने गरेकोमा देबेदेवले ट्यांकमै मिसाइल जडान गरेर जमिन र आकाशमा एकसाथ आक्रमण गर्ने क्षमता विकास गरेका थिए ।

सोभियत युनियनसँग एउट यस्तो खतरनाक हतियार थियो, जो पानीमा तैरिने युद्धक विमान हो । बार्टिनी बेरियेभ भीभीए–१४ नामको यो विमान पानी र हावामा उस्तै काम गर्न सक्थ्यो । पानीमा डुबेर तैरिने भएका कारण यसलाई सजिलैसँग दुश्मनले देख्न सक्दैनथे । आवश्यकता अनुसार यसलाई हावामा पनि उडाउन सकिन्थ्यो । यो विमानमा दर्जनौं न्यूक्लियर मिसाइल तैनाथ गरिएको थियो । तर यो विमानको प्रयोग गर्नुपर्ने अवस्था आएन ।

सोभियत संघलाई आफ्नो विशाल क्षेत्रफलको रक्षा गर्नु कम चुनौतीपूर्ण थिएन । सबै क्षेत्रमा उत्तिकै सशक्त हतियार पुर्‍याउन पनि उत्तिकै समस्या थियो । यही विषयलाई ध्यानमा राख्दै उसले बोर्डर लाइनमा रेलवे ट्रयाक बनाएको थियो । उक्त ट्रयाकमा गुड्ने रेलमै ट्यांक जडान गरिएको थियो, जो आवश्यकता अनुसारको बोर्डर क्षेत्रमा केही समयको अन्तरालमै पुग्न सक्थे र दुश्मनमाथि आक्रमण गर्न सक्थ्यो ।

१९८० मा सोभियत संघले अमेरिका, बेलायतजस्ता देशलाई जवाफ दिनका लागि समुद्रमा आफ्नो ‘सी–मोन्स्टर’ तैनाथ गरेको थियो । यसको शक्ति र गति देखेर नेटोका सदस्य राष्ट्रहरु समेत डराएका थिए । २० औं शताब्दीमा निर्माण गरिएको यो ‘वार शिप’को गति २ सयदेखि २ सय ५० किलोमिटर प्रतिघण्टा थियो । १ सय मिटर लामो र ५ सय ४४ टन वजन भएको यो ‘वार शिप’को डिजाइन नै यसरी तयार पारिएको थियो कि यो समुद्रमा कहिल्यै डुब्न सक्दैनथ्यो । (एजेन्सी)