
चितवन । माइती नेपाल चितवनले मानव बेचविखनविरुद्धको अभियानलाई तीव्र पारेको छ ।
जिल्लामा अझै पनि लुकिछिपी मानव बेचविखन हुने गरेको भन्दै माइती नेपालले आफ्नो अभियानलाई तिव्रता दिएको हो ।
चितवन देशकै मध्य भागमा पर्नुका साथै राजधानी र भारतसँग सीधा सम्पर्क हुने ठाउँ भएकाले बढी सचेतना अपनाउनुपर्ने देखिएको भन्दै अभियानलाई तीव्र पारिएको माइती नेपाल चितवनका संयोजक ईश्वर गिरीले जानकारी दिए ।
विशेषगरी होटल सञ्चालक, यातायात व्यवसायी, बस काउण्टरका कर्मचारीलगायतलाई सचेत गराउन सके उनीहरूको सहयोगमा त्यस्ता गतिविधि रोक्न सकिने उनको भनाइ छ ।
माइती नेपालले नारायणगढ बजारको पुलचोक क्षेत्रमा पर्ने होटल तथा लज, बस काउण्टरहरूमा पम्प्लेटसहित सचेतना गराएको छ ।
साथै शंकास्पद अवस्थामा कोही आएमा सीधै माइती नेपाल वा सम्बन्धित क्षेत्रमा रहेको प्रहरीलाई खबर गरेर सहयोग गर्नसमेत माइती नेपाल चितवनकी मनोविमर्शकर्ता जयन्ती खनालले आग्रह गरिन ।
प्रतिक्रिया दिनुहोस्