इलाम, फागुन २७ । हिमालयन शेर्पा क्लब इलाममा जारी ‘अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप’ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा हङकङ नेप्लिज फुटबल एकेडेमीलाई ५–१ ले पराजित गर्दै हिमालयन शेर्पा अन्तिम आठमा पुगेको हो ।
हिमालयनका सुनिल खड्काले खेल सुरु भएको एक मिनेटमा नै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सुनिलले नवौं र ६४औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरे ।
यस्तै, बिसन गुरुङले ३७औं र मनबहादुर तामाङले ७५औं मिनेटमा एक/एक गोल गरे ।
हङकङका लागि समिर लिम्बूले ४७औं मिनेटमा एक सान्त्वना गोल फर्काएका थिए ।
खेलको ‘म्यान अफ दी म्याच’ हिमालयनका खड्का घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत् मंगलबार दार्जिलिङ युनाइटेड क्लब र नेपाल पुलिस क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।
नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।








प्रतिक्रिया दिनुहोस्