Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


अमेरिकामा सात मुस्लिम देशका नागरिकलाई पक्राउ नगर्न अदालतको आदेश


0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्रवादी इस्लामिक आतंककारीलाई देशबाट बाहिर राख्ने भन्दै शुक्रबार सात मुस्लिम बहुल देशका नागरिकलाई तीन महिनाका लागि अमेरिका प्रवेशमा रोक लगाउन आदेश जारी गरेपछि ती देशबाट अमेरिका आइरहेका भिसा भएका ब्यक्तिलाई विमानस्थलबाट पक्राउ नगर्न अमेरिकी अदालतले अन्तरिम आदेश दिएको हो ।

ट्रम्पको आदेशले विश्वका सात मुस्लिम बहुल देश इराक, सिरिया, लिबिया, सुडान, सोमालिया, यमन तथा इरानका आप्रवासी र नागरिकलाई देश छिर्न प्रतिबन्ध लगाएपछि अमेरिका आउँदै गरेका त्यस्ता मानिस अमेरिकाका विभिन्न विमानस्थलबाट पक्राउ गर्न थालिएको थियो ।

ट्रम्पको आदेश मुसलमानबिरुद्धको प्रतिबन्ध भन्दै विभिन्न अधिकारवादी समूहले यसविरुद्ध अदालतको ढोका ढक्ढकाएका थिए ।

त्यसपछि अदालतले पक्राउ नगर्न आदेश दिएको हो । न्यूयोर्क विमानस्थलमा मात्र ११ जना पक्राउ परेको बताइएको छ ।

पक्राउ पर्नेमा ट्रम्पले आदेश जारी गर्नु अघिनै अमेरिकाका लागि उडेकाहरु परेको बताइएको छ ।

अमेरिका आउन लागेका ती सात देशका नागरिकलाई विभिन्न देशको विमानस्थलबाट फर्काउन थालिएको छ । शुक्रबार मात्र इजिप्टको कायरो विमानस्थलबाट न्यूयोर्क जान लागेका पाँच इराकीलाई फर्काइएको थियो ।

राष्ट्रपति ट्रम्पले आफ्नो आदेश मुसलमानबिरुद्धको प्रतिबन्ध होइन भन्ने स्पष्टोक्ती दिएपनि संयुक्त राष्ट्रसंघ र यूरोपेली मुलुकले आदेशको आलोचना गरेका छन् ।

ईरानले यो इस्लामिक विश्वको अपमान भएको भन्दै जवाफ फर्काइने र अमेरिकीलाई पनि इरान आउन नदिने चेतावनी दिइसकेको छ ।

राष्ट्रपति ट्रम्पले सिरियाली आप्रवासीलाई अर्को सूचना जारी नभएसम्म र सात मुस्लिम मुलुकका नागरिकलाई तीन महिनाका लागि अमेरिका प्रवेशमा रोक लगाउन आदेश जारी गरेका थिए । (एजेन्सी)