Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


‘सबैभन्दा ठूलो’ राष्ट्रिय झन्डा फहराइयो, दुःख व्यहोर्न तयार छौं तर हेपिन तयार छैनौं : ओली


0
Shares

सहिद दिवसको अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले झन्डोत्तोलन गर्दै नेपालको राष्ट्रिय झन्डा फहराएका हुन् ।

कार्यक्रममा अध्यक्ष ओलीले नेपाली स्वाभिमानमाथि अपमान हुन थालेपछि राष्ट्रियताप्रति प्यारो लाग्न थालेको बताए ।

केही वर्षयता नेपालको झन्डा नेपालीलाई प्यारो लाग्न थालेको भन्दै उनले केही स्वार्थी तत्वबाहेक सबैले देशलाई माया गर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले जस्तोसुकै परिस्थिति आएपनि देशलाई टुक्रिन र कमजोर पनि हुन नदिने धारणा राखे ।

‘हामी दुःख व्यहोर्न तयार छौं । तर, हेपिन र स्वाभिमान गिराउन तयार छैनौं’–उनले भने–‘सबै राष्ट्रप्रेमी एक ठाउँमा उभिएर स्वाभिमानको रक्षा गर्छौं ।’

उनले देशको स्वाभिमान कसैकाविरुद्ध पनि नलाग्ने भन्दै जनता र देशको पक्षमा रहेको उल्लेख गरे ।

अध्यक्ष ओलीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसवादी दललाई राष्ट्रियताका सवालमा एमालेजस्तो नीति ल्याउन आग्रह गरे ।

उनले निर्वाचन नगर्ने प्रयास भइरहेको भन्दै जसरी पनि निर्वाचन गराएर छाड्ने बताए ।

‘निर्वाचन नगर्ने प्रयास भइरहेको छ’–उनले भने–‘तर निर्वाचन गर्नका लागि आवश्यक दबाब दिने शक्ति हामीसँग छ । निर्वाचन गराएर छाड्छौं ।’

कार्यक्रममा राष्ट्रकवि घिमिरेले अहिलेको पुस्ताले राष्ट्रितामाथि चासो राख्न थालेको बताए ।

फहराइएको झन्डा १० मिटर लामो र साढे ७ मिटर चौडाइ रहेको छ ।

राष्ट्रियतामा योगदान पुर्‍याएबापत उक्त कार्यक्रममा खेलाडी मीरा राई, कलाकार मोहनदास श्रेष्ठलगायत एक दर्जनलाई सम्मान गरिएको थियो । रासस