प्रकाश मैनाली/ईमेज
सर्लाही । सर्लाहीको बलरा नगरपालिकाका जनप्रतिनिधिहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
मेयरसँग उपमेयर र वडाध्यक्षहरु असन्तुष्ट हुँदै जाँदा नगरपालिकाका कामसमेत प्रभावित भएका छन् ।
जनतालाई सेवा दिन चुनिएका जनप्रतिनिधिले नै एकअर्कामाथि आरोप प्रत्यारोपमा उत्रिएपछि नागरिक चिन्तित बनेका छन् ।
स्थानीय तहका प्रमुख र उपप्रमुख फरकफरक पार्टीबाट निर्वाचित भएका कारण कतिपय ठाउँमा कार्यसञ्चालनको क्रममा विवाद उठ्ने गरेको छ ।
तर, सर्लाहीको बलरा नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका भए पनि विवाद भने चुलिँदै गएको छ ।
नगरप्रमुख भ्रष्टाचारमा लिप्त भएको, एकलौटी ढंगले काम गर्न खोजेको, कर्मचारीमा त्रास उत्पन्न गरेको लगायतका आरोप लगाउँदै बलरा नगरपालिका उपप्रमुखसहित नौ वडाध्यक्षले गत पुस ४ गतेदेखि नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । नगरप्रमुखले जुनसुकै काम गर्दा आफूलाई जानकारी नै नदिएको उपप्रमुख रामसखी देवीको आरोप छ ।
नगरकार्यपालिका बैठकमा भएका निर्णयसमेत राम्रोसँग पढ्न नदिई नगरप्रमुखले हस्ताक्षर गर्न लगाएको उपप्रमुखको आरोप छ । अर्कोतिर नगरप्रमुखको कार्यशैलीप्रति वडाध्यक्षहहरु पनि असन्तुष्ट छन् ।
बलरा नगरपालिका–८ का वडाध्यक्ष रविकुमार साहले नगरप्रमुखबाट भएको भ्रष्टाचार, अनियमितता, गैरजिम्मेवारीपना र जातीय राजनीतिविरुद्ध नगरपालिकामा तालाबन्दी गरिएको बताए ।
विशेष गरी नगरप्रमुखले विभिन्न शीर्षकमा फर्जी बिल र भर्पाइ बनाएर बजेट अनियमितता गरेको असन्तुष्ट पक्षको आरोप छ ।
यता नगरप्रमुख अभयकुमार सिंह भने आफू सही बाटोमा हिड्दाहिड्दै आफूविरुद्ध भ्रामक प्रचार र मिथ्या आरोप लगाइएको दाबी गर्छन् ।
नगरप्रमुखले गरेको अनियमितताविरुद्ध आवाज उठाउनु र कारबाहीको पक्रिया अगाडि बढाउनु सही हो तर जनताको सेवा नै प्रभावित हुने कार्यालयमा तालाबन्दी गर्नु चाहिँ पटक्कै शोभनीय नभएको स्थानीयको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्