Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


सार्वजनिक लेखा समितिको सभापतिमा उपाध्याय


0
Shares

समितिको कार्यालय सिंहदरबारमा सोमबार भएको निर्वाचनमा सत्तारुढ दलका संयुक्त उम्मेदवार नेकपा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय सभापतिमा विजयी भएका हुन् ।

कूल खसेको ३९ मतमध्ये उपाध्यायले २३ मत प्राप्त गरी विजयी भएका हुन् । कपिलवस्तुको गजेहडाका उपाध्याय माओवादीका समानुपातिकतर्फबाट सांसद हुन् ।

निर्वाचनमा एमालेका सांसद पशुपति चौलागाईंले १६ मत प्राप्त गरेका थिए ।

सत्तारुढ दल राप्रपाका दुई सांसदले भने एमालेका उम्मेदवार चौलागाईंको पक्षमा मतदान गरेका थिए ।

समितिका सभापति जनार्दन शर्मा गत साउनमा ऊर्जामन्त्री भएपछि सो पद खाली थियो ।

सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षीलाई दिने परम्परा तोड्दै सत्ता पक्षले सभापति आफ्नो पक्षमा पारेको हो । लेखा समितिमा नेपाली कांग्रेस र एमालेका १५÷१५ सदस्य छन् भने माओवादी केन्द्रका ७ सदस्य छन् । राप्रपाका दुई र अन्य साना दलका १० सदस्य छन् ।

लेखा समिति ५१ सदस्य हुने व्यवस्था छ । नेतृत्व पाउन २६ मत ल्याउनुपर्ने स्थिति भए पनि उपस्थिति न्यून भएपछि २३ मत नै निर्णायक हुन पुगेको हो ।