Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


म्याग्दीकाली दोभानबाट ५ सय वाट विजुली उत्पादन


0
Shares

-ध्रुवसागर शर्मा, ईमेज

बेनी नगरपालिकाको ५० हजार रुपैयाँ आर्थिक सहयोग र उपभोक्ता समितिको ४ लाख ५० हजार गरी कुल ५ लाख रुपैयाँको लागतमा विद्युत उत्पादन गरी बेनी बजारका बैंकरोड,संगमचोक,इन्द्रणीटोल,आवारोड,बैंकरोडको भित्रि गल्ली लगाएतका स्थानमा ५ सय वटा बल्ब मार्फत विजुली बालिएको कालीगण्डकी उर्जा विकास उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार ऊर्जाको क्षेत्रमा लामो समय काम गरी अनुभव बटुल्नु भएका प्राविधिक दुर्गाप्रसाद श्रेष्ठको योजना र प्राविधिक सहयोगमा विजुली उत्पादन गरिएको हो ।प्राविधिक श्रेष्ठले यस अघि पनि कालीगण्डकी नदीबाट व्यक्तिगत लगानीमा विजुली उत्पादन गरेका हुन् ।

प्राविधिक श्रेष्ठको सीपलाई सदुपयोग गरी आवश्यक लगानीको व्यवस्था गर्न सक्ने हो भने म्याग्दी र कालीगण्डकी नदीबाट बेनी बजारलाई आवश्यक पर्ने विजुली उत्पादन गर्न सकिने कालीगण्डकी ऊर्जा विकास उपभोक्ता समितिका सचिव रुद्रप्रसाद सुवेदीले बताए । “यसलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ” सचिव सुवेदीले भने ।

“जिल्ला विकास समिति,नगरपालिका,उपभोक्ता समिति,स्थानीयवासी लगाएत सम्वन्धित निकाय र संघसंस्थाहरुको पहलमा आवश्यक बजेटको व्यवस्था गरी विद्युत उत्पादन कार्यलाई निरन्तरता दिनुका साथै थप क्षमता विस्तारमा पहल गर्नु आवश्यक देखिएको छ” अध्यक्ष श्रेष्ठले भने ।

बेनीबजारमा अहिले पनि दैनिक १ घण्टा भन्दा बढी समय लोडसेडिङ हुँदै आएको छ । यो प्रविधि विशेष गरी लोडसेडिङको समयमा उपयोगी हुने देखिएको स्थानीयले बताएका छन् ।