मन्त्रालयहरुले विनियोजित पुँजीगत खर्च गर्न नसक्दासमेत थप बजेट माग गरेको भन्दै अर्थ मन्त्रालयले मन्त्रालयहरुको आयोजना छनौटमै त्रुटि हुनसक्ने औल्याउँदै जिम्मेवार भएर लाग्न आग्रह पनि गरेको छ ।
बजेटमा विनियोजन गरिएको ३ खर्ब ११ अर्ब रकमबाहेक मन्त्रालयहरुले थप २ सय १५ अर्ब रुपैयाँ माग गरेको अर्थले जनाएको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म ११ दशमलव तीन प्रतिशतमात्रै विकास बजेट खर्च भएको छ ।
मंगलबार सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर पुँजीगत खर्चको समीक्षा गर्दै अर्थ मन्त्रालयले पुँजीगत खर्च हुन नसक्नुको कारण सोधेको हो ।
अर्थसचिव शान्तराज सुवेदीले राष्ट्रिय प्राथमिकताका आयोजनाको विकास खर्चको अवस्था लस्जास्पद रहेको विवरण प्रस्तुत् गरे ।
हालसम्म राष्ट्रिय गौरवका आयोजनामा १३ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । उनले मन्त्रालयहरुको खर्च र मागबीच तालमेल नभएको पनि बताए ।
ठूला आयोजनामा पनि २० प्रतिशतमात्रै पुँजीगत खर्च भएको मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयले जेठ १५ गते नै बजेट सार्वजनिक भएपनि अझैपनि मन्त्रालयहरुले तल्लोस्तरसम्म अख्तियारी नदिएको भन्दै ध्यानाकर्षण गराएको छ ।
अर्थसचिव सुवेदीले मन्त्रालयहरुले अख्तियारी पनि खन्डीकरण गरेर दिएको बताए ।
अर्थ मन्त्रालयले शोधभर्नामा पनि समस्या देखिएको जनाएको छ । ३४ अर्ब ३७ करोड शोधभर्ना बाँकी रहेको अर्थले जनाएको छ ।
अर्थमन्त्री कृष्णबहादुर महराले अपेक्षितरुपमा विकास बजेट खर्च हुन नसकेको भन्दै प्रभावकारी अनुगमन टोली बनाउन लागेको बताए ।
उनले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय सम्मिलित एक शक्तिशाली अनुगमन टोली बनाइने बताए । उनले बोलेअनुसार काम गर्न मन्त्रालयहरुलाई निर्देशन पनि दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले असार मसान्तमामात्रै विकास खर्च गर्ने परिपाटीको अन्त्य गर्न आग्रह गरे ।
उनले अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने सबै मन्त्रालयहरुको दायित्व रहेको भन्दै सुरुबाटै विकास बजेट खर्च गर्नुपर्ने बताए ।
समीक्षा कार्यक्रममा विकासे मन्त्रालय भौतिक पूर्वाधार मन्त्रालय अनुपस्थित रह्यो भने युवा तथा खेलकुद मन्त्रालयले पनि प्रतिनिधिसमेत नपठाएको अर्थ मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्