
नारायण अधिकारी (रासस)
चितवन, असार २२ । नारायणगढ–मुग्लिन सडकखन्डको चोरखोलादेखि टोपेखोलासम्म निरन्तर खसिरहेको पहिरो यस वर्ष रोक्न सम्भव नरहेको विज्ञहरुले बताएका छन् ।
वर्षात् भएसँगै मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ पर्ने टोपेखोला र तीन किलोमिटर ३०० मिटर दूरीमा पर्ने टोपेखोलाबीचको ७०० मिटर क्षेत्रमा पहिरो खस्ने गरेको छ ।
सोही क्षेत्रमा चारकिलो भन्ने क्षेत्र पनि पर्छ । अधिकांश पहिरो टोपेखोला, चारकिलो र चोरखोलामा खस्ने गरेको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका भू–प्रविधिसम्बन्धी परामर्शदाता टुकलाल अधिकारी सो क्षेत्रमा खसेको पहिरो यो वर्षात्मा नियन्त्रण गर्न नसकिने बताउँछन् ।
उनले सामान्य ढंगबाट पानी तर्काएर पहिरो घटाउने र सुरक्षा सावधानी अपनाउनेबाहेक अन्य उपाय नभएको बताए ।
सो ठाउँको माटो खुकुलो भएको र चट्टानहरु साना–साना टुक्रा रहेका कारण तत्काल रोक्न नसकिने र ‘स्वायल नेल’ प्रविधि अपनाउनुपर्ने अधिकारीले बताए ।
उनकाअनुसार यो प्रविधिमा १० देखि १५ मिटरको रड भित्तोमा ड्रिल गरेर छिराउनुपर्ने हुन्छ । रडसँग पाइपको माध्यमबाट सिमेन्ट छिराएर भित्रको मजबुत् लेयरसँग बाँध्नुपर्ने हुन्छ । बाहिरपट्टि पनि रडसँगै सिमेन्टले भित्तो ढलान गर्नुपर्ने उनले बताए ।
हिउँदको समयमामात्रै यो प्रविधिबाट काम गर्नसकिने बताउँदै उनले मनसुन बन्द भएपछि विज्ञहरुले यसको अध्ययन गरी डिजाइन तयार गरेर काम गर्नुपर्ने बताए ।
सरकारले ध्यान दिएर समयमै काम थालेमा अर्काे वर्षको वैशाख–जेठसम्ममा यो प्रविधिबाट पहिरो रोक्नसकिने उनले बताए । छोटो प्रक्रियाबाट गर्दा केही छिटो कामसकिने उनले बताए ।
यो प्रविधि उच्चस्तरको र निकै खर्चिलो भएको पनि उनले बताए । यो प्रविधिबाट पहिरो रोक्दा काम थोरै देखिने तर लागत धेरै लाग्ने गर्छ ।
कुलेखानीको बाँधको दुवैतर्फ, अरनिको राजमार्गलगायतका ठाउँमा यो प्रविधिबाट पहिरो नियन्त्रण गर्ने काम भएको उनले बताए ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुराल विज्ञहरुले विभिन्न उपायहरु बताइरहेको भएपनि मनसुन नहटेसम्म पहिरो रोक्ने कुनैपनि काम गर्न नसकिने बताउँछन् ।
एकै क्षेत्रमा पहिरो खसिरहेको भन्दै उनले अहिले सावधानी अपनाउने र यथाशक्य छिटो पहिरो हटाउनेतर्फमात्रै आयोजना लागेको बताए ।
स्वायल नेलजस्तै गरी ‘युरोपियन क्रिस्मर’ प्रविधिबाट पनि पहिरो रोक्नसकिने विज्ञहरुले सुझाव दिएको उनले बताए ।
यो प्रविधिमा बाहिर फलामको पाता राखेर भित्र ड्रिल गरी बलियो भागसँग जोड्ने काम गरिन्छ ।
यसका अतिरिक्त विभिन्न सुझाव आइरहेको भन्दै उनले मनसुन सकिएपछि विज्ञहरु बोलाएर विस्तृत् अध्ययन गरी उपयुक्त उपायको खोजी गरिने बताए ।
वर्षात्मा ठूलो पहिरो खसेर पहाडले आफैं सतह मिलाएमा पहिरो नियन्त्रण सामान्य ढंगले गर्नसकिने पनि उनले बताए । त्यसको पर्खाइमा पनि आयोजना रहेको छ ।
आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार सो क्षेत्रको टोपेखोला र चोरखोलामा १०० मिटरमाथिबाट पहिरो खसेको छ भने चारकिलोमा ७० मिटरमाथिबाट पहिरो खसेको छ ।
खनालकाअनुसार चारकिलोको डाँडो साना–साना ढुंगाले अड्याएको कमजोर भौगोलिक बनोटको छ भने चोरखोला र टोपेखोलामा माटोको मात्रा बढी र खुकुलो रहेको छ ।
उक्त क्षेत्रमा तीन मिटरसम्म भित्तो काटेर सडक विस्तार गरिएको छ । नारायणगढ–मुग्लिन सडकखन्ड स्तरोनतिको काम अन्तिम चरणमा पुगेको छ । यसैक्रममा अधिकांश ठाउँमा भित्तो काटेर सडक चौडा गरिएको छ ।
सो सडकको अन्य ठाउँको भित्तो कडा चट्टान र खँदिलो माटो भएकाले पहिरो रोक्ने काम सहज बनेको छ ।
सडकका अन्य ठाउँमा पहिरो रोक्नका लागि बायोइन्जिनियरिङ, रक बोल्टिङ, नेट मिटिङलगायतका प्रविधि प्रयोग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्