२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


सीमा रक्षार्थ भारतीय सुरक्षाकर्मीको गोली लागेर सहिद भएका गौतमप्रति राज्यको बेवास्ता (भिडियो)


0
Shares

दुर्गा उपाध्याय

कञ्चनपुर, फागुन २६ । सीमा रक्षा गर्ने क्रममा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमले शहादत प्राप्त गरेको आज दुई वर्ष पुरा भएको छ ।

कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीबाट गोली लागेर गौतमको २०७३ साल फागुन २६ गते ज्यान गएको थियो । सरकारले गौतमलाई सहिद घोषणा गरे पनि सहिद परिवारलाई दिएको बाचा भने अझै पूरा गरेको छैन ।

दुई वर्षअघि फागुन २६ गते कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजार रणभूमिजस्तै बन्यो । अघिल्लो दिन नेपाली भूमिमा कल्भर्ट निर्माण गर्दा भारतीय पक्षले हस्तक्षेप गरेपछि चर्किएको विवादमा भारतीय पक्षले हस्तक्षेपमात्रै गरेन, राति नेपाली भूमिमै आएर स्थानीयलाई कुटपिटसमेत गर्‍यो ।

भारतीय सुरक्षाकर्मीको गोली लागेर ३२ वर्षीय गोविन्द गौतमको ज्यान गयो । चर्को जनदबाबपछि सरकारले मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैंया, श्रीमतीलाई जागिर, छोरीहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गर्‍यो । त्यतिमात्रै होइन, घटनाका विषयमा भारतीय पक्षसँग छलफल गरी दोषीलाई कारवाही र विवादित सीमा क्षेत्रको नक्सांकन गर्ने विषयमा सरकारले प्रतिबद्धता जनाएको थियो ।

दोषी भारतीय सुरक्षाकर्मीलाई कारवाही त परै जाओस्, आजसम्म गौतमका परिवारको बारेमा सरकारले गरेका प्रतिबद्धता पनि पुरा भएको छैन ।

गौतमको हत्या भएको दुई वर्ष वितिसक्दा पनि सरकारबाट राहतस्वरुप १० लाख रुपैयाँबाहेक मृतकका परिवारले आफू सहिद परिवार भएको अनुभूतिसमेत गर्न पाएका छैनन् । छोरीहरुलाई निःशुल्क शिक्षा र श्रीमतीलाई जागिर दिने सरकारको बाचालाई यतिबेला स्थानीय तहले पनि पुरा गरेको देखिँदैन ।

सरकारले दिने राहत दिइसकेकाले सधैंभरी शहिदलाई हेर्न नसक्ने भन्दै स्थानीय तहले उपेक्षा गरेपछि सहिद गौतमकी पत्नी चार महिनादेखि जागिरको खोजीमा काठमाडौंमा भौतारिइरहेकी छन् ।

अहिलेसम्म सरकारले जनाएको प्रतिबद्धताअनुसार न दोषी पत्ता लगाएको छ, न विवादित क्षेत्रमा सीमा नक्सांकनको काम नै हुन सकेको छ । बरु, जुन ठाउँमा गौतमको ज्यान गएको थियो, विवादित क्षेत्र भन्दै अहिले भारतीय पक्षले त्यो बाटो आवतजावत नै बन्द गरेको छ ।

घटनास्थल नजिक सशस्त्र प्रहरीको अस्थायी चौकी स्थापना गरिए पनि सरकारले आफैँले गरेको बाचा पुरा नगरेपछि स्थानीयसमेत असन्तुष्ट बनेका छन् । 

निर्मला पन्तको हत्या प्रकरणमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर सहिद भएका सन्नी खुनाकी आमा मञ्जु खुनालाई भीमदत्त नगरपालिकाले एक महिनाभित्रै जागिर दियो । तर, देशको सीमा रक्षाका लागि सहिद भएका गौतमकी पत्नीलाई सरकारले जागिर नदिएर उनको उपेक्षामात्रै गरेको छैन, सहिदप्रति विभेदकारी व्यवहार पनि गरेको छ ।

सहिद गौतमकी आमाको गुनासोसहित भिडियो रिपोर्ट हेर्नुहोस्