२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


विश्वका १० खराब अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको त्रिभुवन विमानस्थल पनि


0
Shares

तर जहाँ सिंगापुरको चंगी अन्तर्राष्ट्रिय विमानस्थलले विश्वकै सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको सूचीमा पहिलो स्थान ओगट्दा नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भने विश्वकै खराब अन्तर्राष्ट्रिय विमानस्थलको ‘टप टेन’ सूचीमा सामेल भएको छ ।

रेस्ट जोन, बस्ने सीट, सफाइ, विमानस्थल प्रशासन, खानपिनको सुविधा, यात्रुको प्रतिक्रिया लगायत भौतिक सुविधाका विषयलाई आधार मानेर सन् २०१६ मा तयार पारिएको प्रतिवेदनमा विश्वकै उत्कृष्ट र खराब विमानस्थलको मूल्यांकन गरिएको हो ।

यी हुन् विश्वकै खराब अन्तर्राष्ट्रिय विमानस्थल

१. जेद्दाह किंग अब्दुल्ल अजीज अन्तर्राष्ट्रिय विमानस्थल, साउदी अरेबिया

विश्वकै खराब अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो सूचीमा साउदी अरेबियास्थित जेद्दाह किंग अब्दुल्ल अजीज अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यो विमानस्थलमा सफाइमा ध्यान नदिइएको, कर्मचारीहरु जिम्मेवार हुन नसकेको, टर्मिनलमा रेस्टुरेन्ट तथा किनमेलको सुविधा नभएको, मनोरञ्जनका साधन नभएको कारण यसलाई विश्वकै पहिलो खराब अन्तर्राष्ट्रिय विमानस्थलको सूचीमा राखिएको हो । हज यात्राको समयमा यो विमानस्थलमा यात्रुको चाप बढ्दा बस्ने सीटको समेत अभाव हुने गरेको बताइन्छ ।

२. जुबा अन्तर्राष्ट्रिय विमानस्थल, दक्षिण सुडान

यो सूचीको दोस्रो नम्बरमा दक्षिण सुडानस्थित जुबा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । युद्धग्रस्त यो मुलुकमा युद्धको प्रभाव विमानस्थलमा समेत प्रष्ट देख्न सकिन्छ । फुटबलको मैदानजत्रो आकारमा रहेको टर्मिनलमा आरामदायी सीट फेला पार्न मुस्किल पर्दछ । यहाँको सुरक्षा व्यवस्था पनि भरपर्दो नभएको बताइन्छ । शौचालयको सुविधा प्रभावकारी नभएको, सफाइमा ध्यान नदिइएको कारण यो विमानस्थल खराबमध्ये दोस्रो सूचीमा रहेको हो ।

३. पोर्ट हार्कोर्ट अन्तर्राष्ट्रिय विमानस्थल, नाइजेरिया

यो विमानस्थलमा यात्रु आगमन कक्षका रुपमा रहेको हल ‘टेन्ट’ ले बनाइएको हो । यहाँ लामखुट्टेको बिगबिगी रहेको छ । शौचालय फोहर हुनका साथै विमानस्थलमा एअरकन्डिसनको सुविधा समेत छैन । यहाँ सुरक्षाको भरपर्दो व्यवस्था नभएकै कारण नाजुक सामानलाई राम्रोसँग प्याक गर्न र बहुमूल्य सामान आफैंसँग राख्न सुझाव दिइएको छ ।

४. ताशकेन्ट इन्टरनेशनल विमानस्थल, उज्बेकिस्तान

यो विमानस्थलमा आउने धेरैजसो यात्रुले चेकप्वाइन्टमा हुने भीडलाई लिएर गुनासो गर्ने गरेका छन् । यो विमानस्थलको सीट आरामदायी नभएको, सफाइमा ध्यान नदिएको गुनासो पनि उत्तिकै हुने गरेको छ ।

५. सान्टोरिनी थिरा विमानस्थल, ग्रीस

युरोपका विमानस्थल सामान्यतया राम्रो हुने भए पनि यो विमानस्थल त्यसको ठिक विपरीत छ । यहाँको ‘चेक इन’ मा लामो लाइन बस्नुपर्ने गुनासो यात्रुहरु गर्दछन् । त्यसपछि यात्रुले प्रतिक्षाका लागि बस्नुपर्ने कोठा सानो र एअर कन्डिसनसमेत नभएको कारण यात्रुलाई असुविधा हुने गरेको छ । शौचालयको सफाइमा समेत ध्यान नदिइएको गुनासो व्याप्त छ ।

६. चानिया विमानस्थल, ग्रीस

ग्रीसकै अर्को विमानस्थल चानिया पनि खराब विमानस्थलको सूचीमा छ । लामो लाइन, झर्को लाग्दो सेक्युरिटी जाँच यहाँको मूख्य पीडा हो । यहाँ खानेकुरा पनि सामान्य बजारको तुलनामा निकै महँगो बेच्ने गरिन्छ । बस्नका लागि सीटको अभाव, ३० डिग्री तापक्रममा पनि एअरकन्डिसनको व्यवस्था नहुनु जस्ता विषयले यो विमानस्थललाई खराबको सूचीमा सामेल गराएको हो ।

७. क्रेटे हेराक्लिओन विमानस्थल, ग्रीस

यो विमानस्थलको अवस्था पनि ग्रीस कै अन्य दुई विमानस्थलको भन्दा खासै फरक छैन । यहाँ रेस्टुरेन्टका मिनुमा चर्को मूल्यसूची, भीडभाडका बाबजुद बस्ने सुविधाको उचित प्रवन्ध नहुनु, शौचालयको व्यवस्था राम्रो नहुनु जस्ता गुनासो सबैजसो यात्रुले गर्दछन् ।

८. कराकस सिमोन बोलिभर विमानस्थल, भेनेजुएला

कुनै बेला राम्रो विमानस्थलको सूचीमा पर्ने यो विमानस्थलको हालत निकै बिग्रिएको छ । भीडभाडका बाबजुद यात्रुको सुविधालाई ध्यान नदिइएको, एअरकन्डिसनको अभाव, थोरै संख्यामा शौचालय हुनु जस्ता विषयले यसलाई खराब विमानस्थलको सूचीमा राखिएको हो । यात्रुको सामानको सुरक्षामा समेत लापरवाही हुने गरेको बताइन्छ ।

९. लन्डन लुटोल विमानस्थल

मर्मत भइरहेका कारण यो विमानस्थललाई यस वर्ष खराब विमानस्थलको सूचीमा सामेल गरिएको छ । क्षेत्रफल सानो भएका कारण यो विमानस्थलमा भीड देखिन्छ । बाथरुप तथा भुईको सफाइमा ध्यान नदिइएको गुनासो यात्रुले गर्दै आएका छन् ।

१०. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुधारका केही प्रयास भए पनि यात्रुको सुविधालाई अझै समग्रमा ध्यान दिन नसकेको पाइएको छ । शौचालय र भुईमा सफाइको अभाव, खानपिनको पर्याप्त सुविधा नहुनु, कर्मचारीहरु मिलनशार नहुनु जस्ता गुनासोका कारण यो विमानस्थल खराबको सूचीमा सामेल भएको हो ।
–दि गाइड टु स्लिपिङ्ग इन एअरपोर्टसबाट