
काठमाडौं, असार २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आमरण अनशनरत् डा. गोविन्द केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न सार्वजनिक महत्वको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता गराएको छ ।
कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न उक्त प्रस्ताव शुक्रबार दर्ता गराएको कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले बताए ।
चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान विसंगतिलाई समाप्त गरी स्वास्थ्य शिक्षा र सेवालाई देशका सबै भागमा सर्वसुलभ एवं गुणस्तरीय बनाउन माग राख्दै डा. गोविन्द केसीले निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
यस सम्बन्धमा विगतमा भएका अध्ययन प्रतिवेदन र विभिन्न समयमा भएका सहमति र सम्झौताका आधारमा अघिल्लो सरकारले अध्यादेश जारी गरेको थियो ।
वर्तमान सरकारले उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न संसदमा प्रस्तुत् गरेको उक्त विधेयक अध्यादेशको मूल भावनाविपरीत रहेको हुँदा कांग्रेसको विरोधका कारण सचिवालयबाट फिर्ता लगिएको उनले बताए ।
उक्त अध्यादेशको भावनाअनुरुप विधेयक ल्याउनुपर्नेलगायतका माग राखी डा. केसी पुनः अनशनमा बसेका छन् । जुम्लामा अनशनमा बसेका डा. केसीको स्वास्थ्यस्थिति दिनदिनै खस्कँदै गएको छ ।
सरकारले डा. केसीको माग र स्वास्थ्यस्थितिबारे गम्भीर चासो लिनुको साटो उनलाई गैरन्यायिक हिरासतमा राख्ने, उपचारमा कुनै चासो नदेखाउने, मागबारे छलफल नगर्नेगरी गैरजिम्मेवार र अलोकतान्त्रिक चरित्र देखाएको नेता खाँणले बताए ।
यो विषय जनतासँग प्रत्यक्ष सरोकार भएको र सार्वजनिकरुपले महत्वपूर्ण भएको हुँदा प्रतिनिधिसभामा तत्काल छलफल गर्न वाञ्छनीय भएको भन्दै उनले जनताको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य शिक्षा र सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन जारी भएको अध्यादेशअनुरुप नै विधेयक तत्काल सदनसमक्ष प्रस्तुत् गर्न प्रस्ताव दर्ता गरिएको जानकारी गराए ।
प्रस्तावमा डा. गोविन्द केसीको उपचारको उचित व्यवस्था गरी जीवनरक्षा गर्न र चिकित्सा शिक्षासम्बन्धी उनले राखेका माग सम्बोधन हुनेगरी सरकारले विगतमा जारी गरेको अध्यादेशअनुरुपको विधेयक प्रस्तुत् गर्न माग गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्