२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


खुल्ला विश्वविद्यालयः गाउँ र प्रवासमा कहिले ?


0
Shares

–युवराज गौतम/ईमेज

काठमाडौं । सबै नेपालीमा शिक्षाको पहुँच विस्तार गर्ने उदेश्यले नेपालमा पहिलो पटक स्थापना भएको खुल्ला विश्वविद्यालय यतिबेला बामे सर्दैछ । ग्रामिण भेग मात्र होइन विश्वभर आफ्नो पुहँच विस्तार गर्ने तयारी गरिरहेको विश्वविद्यालयप्रति सरकारको पर्याप्त ध्यान पुग्न सकेको छैन ।

विश्वविद्यालबाट अध्ययनको प्रमाणपत्र लिन कलेज धाइरहनु नपर्ने, विश्वको जुनसुकै कुनामा वा घरमै बसेर पनि पढ्न सकिने अवधारणासहित खुलेको ‘नेपाल खुला विश्वविद्यालय’लाई नेपालका दुरदराजसम्म र प्रवासमा रहेका नेपालीहरुमाझ पहुँच विस्तार गर्न प्रशस्त समस्याहरु देखिए पनि सरकारले यसलाई प्राथमिकता दिन नसकेको गुनासो आउन थालेको छ ।

ल्यापटप वा कम्युटर र इन्टरनेटको सहायतामा विश्वविद्यालयको उपाधि प्राप्त गर्न नेपालमा पहिलो पटक खुलेको यो विश्वविद्यालयको आफ्नो निजी भवन त छैन नी पर्याप्त जनशक्तिको अभावमा नियमित कक्षा संचालन र शैक्षिक गतिविधि संचालन गर्न समस्या देखिएको छ ।

कार्य व्यस्तताका कारण नियमित कलेज वा विश्वविद्यालयको कक्षामा सहभागी हुन नपाएका, ग्रामीण क्षेत्र वा विदेशमा बसोबास भएका, बिचैमा पढाइ छुटेका, आफूमा प्रतिभा, क्षमता र अनुभव भएर पनि कलेजको शिक्षा लिन नसकेकाहरुका निम्ती खुला विश्वविद्यालय सजिलो माध्यम हो ।

सन् २०१० मा गैरआवासीय नेपाली संघ(एनआएनए) र शिक्षा मन्त्रालय बीच भएको सहमति र सार्कमा खुला विश्वविद्यालय स्थापना गर्न नेपालले जनाएको प्रतिबद्धता अनुसार खुला र दूर सिकाईको विधिमार्फत पढाइ गराउन यो विश्वविद्यालय नेपालमा स्थापना भएपछि विद्यार्थीहरुको आकर्षण बढ्दै गएपनि सरकारले पर्याप्त बजेट ब्यवस्थापन र रणनीति दर्जुमा गर्न नसक्दा समस्याग्रस्त बनेको छ ।

संसदबाट नेपाल खुला विश्वविद्यालय ऐन–२०७३ पारित भएपछि नवीनतम शिक्षण विधि तथा प्रविधिको माध्यमबाट विभिन्न विषयका कक्षाहरु २०७५ जेठ अन्तिमदेखि संचालन भइरहेको भए पनि आर्थिक र प्राविधिक समस्याले केही असहज भइरहेको विश्वविद्यालयका उपकुलपति डा.लेखनाथ शर्मा बताउँछन् ।

उपकुलपति डा.शर्मा भन्छन्, ‘विश्वका धेरै देशहरुमा यसको अभ्यास, प्रयोग र संचालन धेरै बर्षअघि देखि भइरहेको छ त्यसैले नेपालमा पनि सबैमा शिक्षाको पहुँच पुर्‍याउने उदेश्यले विश्वविद्यालय स्थापना भएको हो,’ उनले भने, ‘हाम्रो सिकाई विधि नै युग सुहाउँदो र सजिलो छ, लर्निङ म्यानेजम्यान्ट सिस्टम सफ्टवेयर र इन्टरनेटको प्रयोगमार्फत हामी गुणस्तरयुक्त जनशक्ति उत्पादनको लक्ष्यमा छौं ।’

उनले भने, ‘तर हामी सुरुवाती चरणमा भएकाले केही आर्थिक र प्राविधिक कठिनाइहरु भोगीरहेका छौं ।’ उपकुलपति डा.शर्माका अनुसार ऐनले विदेशमा पनि स्टडिज सेन्टर विस्तार गर्न पाउने अधिकार दिएको भए पनि अहिले तत्कालै अवस्था छैन । उनले भने, ‘सरकारले इन्टरनेटको पहुँच गाउँगाउँसम्म विस्तार गर्न सके र विदेशमा पनि स्टडिज सेन्टर खोल्न पहल गरे हामी बामे होइन जम्प गरेर अघि बढ्ने थियौं ।’

विश्वविद्यालयमा अहिले नयाँ नयाँ विषयका गुणस्तरीय र अपग्रेटिङ पाठ्यक्रम तयारी भइरहेको छ । नयाँ जनशक्ति विस्तार, विषयगत स्रोत व्यक्तिको खोजी भइरहेको पनि उपकुलपति डा् शर्माले जानकारी दिए ।

गैर आवसीय नेपाली संघ(एनआरएनए)ले नेपालमा खुला विश्वविद्यालयको खोल्न नितीगत पहल र ऐन निर्माणमा अगुवाइ गरेको भए पनि विदेशमै रहेका नेपालीहरुको खुल्ला विश्वविद्यालय पढ्न पाउने अधिकार भने अझै सुनिश्चित हुन सकेको छैन ।

२०६५ सालमा संघले उठाएको आवाजलाई सरकारले पुरा गरिदिएकोमा शिक्षा क्षेत्रमा नयाँ आयाम थपिएको एनआरएनएको खुला विश्वविद्यालय कार्यदलका अध्यक्ष डा.प्रमोद ढकालले प्रतिक्रिया दिएका छन् । तर एनरआरएनएले पनि यस सम्बन्धमा थप पहल गर्न सकेको छैन । विश्वविद्यालय स्थापना गर्न सहयोग गरे पनि संचालन र विस्तारमा एनआरएनए मौन देखिन्छ ।

काइदाको सिस्टम

विश्वविद्यालयको भर्ना आब्हानको सूचना देखि शुल्क भुक्तानी, विद्यार्थीको सम्पूर्ण विवरण, कक्षा संचालन सबै अनलाइन सिस्टममा नै राखिएको छ ।

विश्वविद्यालयका आइटी तथा ई–लर्निङ विज्ञ पदमराज पन्त भन्छन्, ‘हाम्रो सिस्टम अलिक पृथक र प्रविधिमैत्री छ विद्यार्थी भर्ना भइसकेपछि सफ्टवेयरमा एकाउन्ट आडी विश्वविद्यालयले खोलिदिन्छ अनि घरमा बसीबसी अनलाइन कक्षा लिन पाइन्छ, उनले भने, ‘विगत ६ महिनाको अवधीमा मात्र हामीकहाँ विभिन्न संकायमा ६ सय ३६ विद्यार्थीले युजर आइडी बनाएर अनलाइन कक्षा लिइरहेका छन् ।’

भर्ना भएका विद्यार्थीलाई सुरुमा तीन दिनको प्रत्यक्ष वर्कसपमार्फत कक्षा कसरी लिने, कसरी युजर आइडीको प्रयोग गर्ने, भिडियो कन्फरेन्स कसरी गर्ने, पाठ्यसामाग्री, शिक्षकहरुले दिएका गाइडलाइन्स, एसिसमेन्ट आदिका बारेमा जानकारी लिने देखि विद्यार्थी–शिक्षकबीचको संचारका बारेमा सिकाउने व्यवस्था विश्वविद्यालयले मिलाइदिएको विज्ञ पन्तले जानकारी दिए ।

पढाइ हुने विषय

विश्वविद्यालय भर्खरै मात्र संचालनमा आएकाले यसका पाठ्यक्रमहरु पर्याप्त तयार भइसकेका छैनन् । बर्षेनी नयाँ नयाँ विषयको पाठ्यक्रमहरु बनाउने योजना विश्वविद्यालयको छ । हाल विश्वविद्यालयमा स्नातक, स्नाकोत्तर र एमफिलका कार्यक्रमहरु संचालित छन् । सामाजिक शास्त्र तथा शिक्षा संकाय अन्तर्गत एमफिल इन एजुकेशन, एमफिल इन सोसल साइन्स, पिजी डिप्लोमा इन डिस्टान्स एण्ड ई–लर्निङ, डिप्लोमा इन लाइब्रेरी एण्ड इन्फरमेसन म्यानेजम्यान्टका कक्षाहरु भइरहेका छन् । 

त्यस्तै विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायमा एमफिल इन आइसिटी, मास्टर्स इन ई–गर्भनेन्सको पढाइ भइरहेको छ भने व्यवस्थापन तथा कानुनतर्फ एमबीए, एमएसडिएमजी, बीबीएस, एलएलबीका कक्षाहरु संचालित छन् ।

यी विषयहरुका लागि विश्वविद्यालयका आफ्नै शिक्षकहरु छैनन् तर दक्ष र सम्बन्धित विषयको काममा अनुभवी विज्ञहरुमार्फत शिक्षण गरिदै आएको उपकुलपति डा शर्माले जानकारी दिए । समय सान्दर्भिक पाठ्यक्रमको तयारी र पिएचडि तहका विभिन्न शैक्षिक तथा पेशागत कार्यक्रमहरुको तयारी भइरहेको उनले बताए । 

मूल्यांकन र सिकाइ बेग्लै

अन्य विश्वविद्यालय भन्दा भिन्न रहेको खुला विश्वविद्यालयमा भर्ना देखि अध्ययन गर्ने समय, अध्ययन र अध्ययापन गराउने तौरतरिका फरक छ । विद्यार्थीहरुले निश्चित समयमा लागि आवश्यक परेको खण्डमा मात्र कलेज गए पुग्छ ।

अन्य विश्वविद्यालयमा विद्यार्थी जान्छन तर, यसमा विद्यार्थी होइन विश्वविद्यालय स्वयम विद्यार्थी कहाँ जान्छ । एसईई पास गरेपछि रुची, लक्ष्य र उदेश्य साथै कार्य दक्षता साथै अनुभावका आधारमा यहाँ भर्ना हुन पाइन्छ । सेमेस्टर सिस्टममा पढाइ हुन्छ । तर एक सेमेस्टरमा तीन पटक तीन–तीन दिनको वर्कसपमा सामेल हुनुपर्छ ।

अन्य सरकारी विश्वविद्यालयमा लाग्ने खर्चभन्दा बढी शुल्क यस विश्वविद्यालयमा लाग्दैन । छात्रबृत्तिको पनि व्यवस्था छ । यद्यपी, विश्वविद्यालयको न्यूनतम मापदण्ड चाहीं पुरा गर्नुपर्छ । तर भर्नाका लागि अहिले कोटा सिस्टम निर्धारण गरिएको छ ।

नेपालमा खुलेको यो खुला विश्वविद्यालयमा यतिबेला बेलुकी करिब चारघण्टा कक्षा संचालन भइरहेको छ । प्रत्येक दिन फरक फरक विषयको कक्षा संचालन गराइन्छ । अनलाइन, भिडियो कन्फरेन्सलगायतको सुविधाबाट शिक्षक–विद्यार्थीको संचार गराइन्छ, यसलाई व्यक्तिगत अनलाइन सिकाइ पनि भन्ने गरिएको छ ।

नजारेको वा नबुझेको कुरा अनलाइनमै जिज्ञासा राख्न पाइन्छ । शिक्षक र विद्यार्थीको सम्पूर्ण रेकर्ड अनलाइनमा रहन्छ । पढाइ घरमै बसेर हुने भए पनि परीक्षा भने बिश्वबिद्यालयले तोकेको स्थानमै गएर दिनुपर्ने हुन्छ ।

परीक्षा ४० प्रतिशत आन्तरिक मूल्यांकन गराइन्छ भने ६० प्रतिशत केन्द्रमै गएर परीक्षामा सामेल हुनुपर्छ । काठमाडौं, पोखरा, धनगढी, कोहलपुर, इटहरीलगायतका स्थानमा परीक्षा केन्द्र निर्धारण गरिन्छ । विश्वविद्यालयबाट उत्तिर्ण भएको प्रमाणपत्र लिएपछि अन्य सरकारी विश्वविद्यालयको जस्तै सरकारी मान्यता प्राप्त गर्न सकिन्छ । 

विश्वमा खुला विश्वविद्यालय

विश्वका करिब ६५ मुलुकमा स्थानीय सरकारले खुला विश्वविद्यालय संचालन गरेको पाइन्छ । नेपालमा भन्दा ३४ बर्ष अगाडि खुला विश्वविद्यालयको अवधारणा भारतमा लागु भइसकेको पाइन्छ । त्यहाँ अम्बेडकर र इन्दिरा गान्धी खुला विश्वविद्यालयमा हजारौं विद्यार्थी पढिरहेका छन् । सन् १९६० पछि बेलायतमा यसको अवधारणा विकास भइ तत्कालिन प्रधानमन्त्री होराल्ड विल्सनको पहलमा सोही अवधारण अनुरुप सन् १९६९ मा खुला विश्वविद्यालयको स्थापना भएको इतिहास छ ।

त्यसपछि क्रमशः अन्य देशहरुमा स्थापना हुनेक्रम बढ्दो छ । सन् १९७० मा क्यानडामा र १९७० को दशकपछि माल्दिभ्स, बंगलादेश, श्रीलंका, पाकिस्तानमा धमाधम खुला विश्वविद्यालय स्थापना भएका थिए । हाल आएर प्रविधिको उच्च प्रयोग गर्दै अन्य विश्वविद्यालयकै स्तर र मान्यता अनुरुप खुला विश्वविद्यालयले स्थान पाएको छ ।