२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


अमेरिकी राष्ट्रपति ट्रम्पका निर्णयहरुले ल्याए विश्वभरि तरंग


0
Shares

विगतमा वर्ष दिनभन्दा लामो समयसम्म उनले आफ्नो निर्वाचन अभियानकाक्रममा उठाएका कतिपय एजेन्डा सजिलै कार्यान्वयन हुन नसक्ने र त्यसबखत अमेरिकी जनताको ध्यान र मत आकर्षण गरी विजयी हुनका लागि उद्घोषण गर्नु, ती नाराहरु केवल चुनावी हथकन्डामामात्र सीमित रहने अनुमान गरेको विश्वले यतिखेर उनका निर्णयहरुलाई बडो सतर्कतासाथ हेरिरहेका छन् ।

सबैले उत्सुकताकासाथ हेरेका अमेरिकी निर्वाचन परिणामपछि कतिपय सन्चारमाध्यमले अब प्रतिक्षाको घडी समाप्त भएको अवस्थाकारुपमा लिएका छन् भने कतिले असम्भव भनिएका चुनावी उद्घोषणका अनौठो कार्यान्वयनको चरण सुरु भएको भनी टिप्पणी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले चुनावअघि व्यक्त गरेका कतिपय प्रतिबद्धतालाई वास्तवमा प्रायः असम्भव नाराकारुपमा लिइएको थियो । यो तथ्यलाई स्वयं अमेरिकाबासीलेमात्र नभएर विश्वका अरु देशका राजनीतिज्ञ र जनताले पनि विश्लेषण गरिरहेका थिए ।

कुनै एक देशले खुला सिमाना भएको आफ्नो अर्काे छिमेकीकाविरुद्धमा लामो सिमाना क्षेत्रभरि ठूलो पर्खाल नै लगाएर एक–अर्काकोे देशमा आवत–जावत प्रवेश नै गर्न नदिनेजस्ता निर्णय कार्यान्वयन गर्न अतिकठिन विषय हो ।

तर, राष्ट्रपति ट्रम्पले भने अब त्यसलाई साँच्चिकै सफल बनाउने तयारीमा लागेको देखिएको छ । त्यसका लागि उनले प्रथमतः पर्खाल बनाउँदा लाग्ने लागत खर्च छिमेकी मेक्सिकोलाई नै व्यहोर्न लगाउने बताएका थिए ।

तर, मेक्सिकोले यसको चर्को विरोध गरी, ‘एक कौडी पनि नव्यहोर्ने’, यस कार्यलाई ‘वाहियात’ भन्ने टिप्पणी गरेपछि सो पर्खाल बनाउँदा लाग्ने खर्चको स्रोत जुटाउन उनले मेक्सिकोबाट अमेरिका आयात हुने सबै सरसामानको मूल्यको २० प्रतिशत अतिरिक्त भन्सार महसुल तथा कर असुल गर्ने प्रस्ताव गरेका छन् ।

यद्यपि, अमेरिकी अर्थविद् मेक्सिकोबाट आयात हुने सामानहरुमा लगाइने यस अतिरिक्त भन्सार महसुल तथा कर असुली दीगो स्रोतको आधार हुन नसक्ने बताउँछन् । पर्खाल लगाउने नै भए अर्को वैकल्पिक स्रोतको पूर्वतयारी गरेपछिमात्रै काम सुरु गर्नु उचित हुने सुझाव उनीहरुको छ ।

मेक्सिकोबाट आयात हुने सामानमा लगाइने अतिरिक्त भन्सार महसुल तथा करको प्रस्ताव सुन्नेबित्तिकै ठूलो परिमाणमा अमेरिकालाई सर–सामान निर्यात गर्ने जापान, चीन, दक्षिण कोरिया, भारतजस्ता अन्य राष्ट्रहरु झस्किएका छन् ।

‘साना मामाको के गति, ठूला मामाको पनि त्यो गति’ पो हुने हो कि भन्ने चिन्ताले हालका दिनमा यी राष्ट्रलाई पनि सताउन सुरु गरेछ भन्ने कुरा यी राष्ट्रका राष्ट्रप्रमुख, सरकारप्रमुख, मन्त्री वा राजदूत वा वाणिज्यदूतहरुले अन्तर्राष्ट्रियस्तरमा व्यक्त गरेका चासो, सोधपुछ वा अमेरिकी राष्ट्रपतिको हरेक सम्बोधनलाई ‘कान ठाडो पारी पारी सुन्ने’ उत्सुकतालाई लिन सकिन्छ ।

अर्को विषयः राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचन अभियानमा आप्रवासी र शरणार्थीप्रति अनुदार नीति अख्तियार गर्दै यस विषयमा जे–जस्तो नीति लिन्छु भन्ने उद्घोष गरेका थिए, ह्वाइट हाउस प्रवेश गरेको दुई हप्ता हुन नपाउँदै अहिले उनले ठीक त्यसै गर्न थालिसकेका छन् ।

अष्ट्रेलियाबाट शरणार्थी स्वीकार गर्न तयार भएको अघिल्लो ओबामा प्रशासनको निर्णय पनि उनले सीधै इन्कार गरिदिएका छन् । यसका कारण अब अष्ट्रेलिया र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध र विभिन्न क्षेत्रको समझदारीमा पनि तिक्तता उत्पन्न हुनसक्ने देखिन्छ ।

यही विषयलाई लिएर अष्ट्रेलियाका प्रधानमन्त्री र राष्ट्रपति ट्रम्पबीच गत हप्ता टेलिफोनमा चर्काचर्की नै परेका समाचारहरु बाहिर आएका छन् ।

त्यस्तै, अर्को एउटा अत्यन्तै अलोकप्रिय निर्णय गरे, राष्ट्रपति ट्रम्पले आफ्नो कार्यभार सम्हालेको सुरुसुरुमै । उनले विभिन्न पाँच कट्टर मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा नै प्रतिबन्ध लगाइदिएका छन् ।

एक विश्वग्राम (ओन वर्ल्ड भिलेज)को अवधारणा अंगीकार भइसकेको अहिलेको परिस्थितिमा कुनै देशले अर्काे कुनै देशका कुनैपनि नागरिकलाई सोझै प्रवेशै दिन्न भन्नु अव्यावहारिक निर्णयबाहेक अरु केही पनि होइन भन्ने आवाज सर्वत्र उठेको छ । राष्ट्रपतिको यस निर्णयको अमेरिका र विश्वभर आलोचना भएको छ । ठूल्ठूला अमेरिकी बहुराष्ट्रिय व्यापारिक घरानाले त यसको खुलेरै विरोध गरेका छन् ।

अमेरिकाभित्रै ठाउँ–ठाउँमा यसकाविरुद्ध हजारौंको संख्यामा जनप्रदर्शन, नाराबाजी र जुलुस गरिएको थियो भने विश्वका अरु देशका नेताहरुले पनि व्यापक विरोध गरेका छन् ।

विगतका दशकौंदेखि प्रजातन्त्र र मानवअधिकार रक्षाको विषयमा वलिष्ठ वकालत गर्दै यसका लागि अरबौं डलर लगानीसमेत गर्दै आउने अमेरिकी संस्कार र प्रतिबद्धतालाई बेवास्ता गर्दै ट्रम्प प्रशासनले विपरीत दिशातर्फ पाइला अघि बढाउन खोजेको भनी सर्वत्र आलोचना भएको छ ।

अमेरिका स्वयं यसरी असंवेदनशीलरुपमा अघि बढ्यो भने संसारमै एक्लिँदै जाने अवस्था पनि आउनसक्ने आँकलन पनि गरिएको छ ।

यस्तै–यस्तै कारणले गर्दा हुनसक्छ, अमेरिकी संघीय अदालतले राष्ट्रपतिका कतिपय निर्णयलाई तत्काल कार्यान्वयन नगर्न/नगराउन धमाधम आदेश जारी गरेका छन् ।

मुस्लिम देशका नागरिक प्रवेश निषेधाज्ञाप्रति त कारण देखाऊ आदेश नै जारी भएको छ । साथै, पूर्वराष्ट्रपति ओबामाका पालामा नियुक्त भएका १६ ओटा राज्यका महान्यायाधिवक्ताले संयुक्त विज्ञप्ति नै प्रकाशित गरी राष्ट्रपतिका निर्णयप्रति आलोचना र खेद् प्रकट गरे भने वासिंगटन राज्यका महान्यायाधिवक्ताको कार्यालयले यस्ता निर्णयविरुद्ध कानुनी उपचार गराउन संघीय अदालतमा छुट्टै मुद्दा नै दायर गर्‍यो ।

एउटा राज्यको महान्यायाधिवक्ताको कार्यालय प्रमुखले आफ्नो मातहतका वकिल, न्यायाधिवक्ता तथा कर्मचारीलाई परिपत्र नै जारी गरी ट्रम्पको सो आदेशको प्रतिरक्षा नगर्न वा यससम्बन्धित मुद्दा–मामिलामा अदालतमा बहस–पैरवी नगर्न आदेश दिइन् ।

यद्यपि, राष्ट्रपति ट्रम्पले यस्तो गैरजिम्मेवार क्रियाकलापमा लाग्ने उच्चश्रेणीकी सरकारी कर्मचारीलाई तत्कालै खोसुवा गरी निजको स्थानमा तुरुन्तै अर्कोलाई नयाँ नियुक्ति दिए ।

तथापि, सरकारी नीति–निर्णय सख्त कार्यान्वयन गराउने वा राज्यभूमिका ऐन, कानुन, निर्देशन कडाइका साथ अक्षरशः पालना गराउने, गर्न लगाउने दायित्व बहन गर्ने मुख्य कार्यालय प्रमुखहरुले नै राष्ट्रपतिको आदेशको अवहेलनामात्र गरेनन्, मौखिकमात्र नभइ कागजीरुपमै खुलेर विरोध गरी राष्ट्रपतीय आदेशलाई निस्क्रिय पार्ने प्रयास गरेको तीतो घटना निश्चित प्रणालीबाट प्रत्येक पाइला स्वचालित हुने वा स्थापित प्रणालीबाट एक पाइला पनि नडग्मगाउने अमेरिकाजस्तो राष्ट्रले व्यहोर्नुपर्‍यो ।

यस प्रकारको अकल्पनीय घटनालाई प्रजातान्त्रिक अभ्यासको पराकाष्ठाकोरुपमा लिने वा निष्ठाको संकट वा विचलनकोरुपमा लिने वा उच्चपदस्थ सरकारी कर्मचारीको बन्देजरहित स्वच्छन्दताकोरुपमा लिने ? विश्वभरि प्रश्नचिह्न खडा भएको छ ।

यस्ता गतिविधिले राज्य सन्चालनमा राष्ट्रपतिलाई प्रत्यक्ष ठेस पुग्न गएतापनि उनले निर्वाचनकाबेलामा बोलेका कुरालाई एकपछि अर्काे गरी आफ्नै आत्मबल र मनोविज्ञानले कार्यान्वयनमा ल्याउन थालेपछि भने यसले संसारमा नै नयाँ तरंग उत्पन्न गर्नुका साथै विश्वमा नयाँ राजनीतिक हलचल पनि पैदा गरेको महसुस हुनथालेको छ ।

चुनावीक्रममा विश्वका कुनैपनि नेताले विभिन्न वाचा गर्ने गर्छन् । चुनावी प्रचार–प्रसारकोक्रममै आतंकवादको अन्त्य गर्ने उद्घोष ट्रम्पले पनि गरेका थिए ।

तर, वास्तवमा आतंकवादकै अन्त्यका लागि उनले लागू गर्न लागेको आप्रवासीउपर कडाइ, मेक्सिको सीमामा पर्खाल लगाउने र मुस्लिम बाहुल्यका देशका नागरिकलाई अमेरिका प्रवेश निषेधजस्ता प्राथमिक चरणका कार्यादेश सुरुमै तीव्र विवादित रहे ।

विश्वको एक शक्ति राष्ट्रकोरुपमा रहेको अमेरिकाको हालसम्मको परिस्थितिलाई हेर्दा यो अमेरिकीमूलका रैथाने अमेरिकीकोमात्र देश नभइ यस देशलाई समग्र विश्वले एक सुरक्षित राजधानी र साझा भूमिकारुपमा प्रयोग गर्दै आएको पाइन्छ र यही भावनाअनुरुप अमेरिकी सरकारले विनाशर्त विश्वभरिका नागरिकलाई संरक्षण दिँदै आएको पाइन्छ ।

अमेरिका यस प्रकार प्रयोग भइरहँदा अमेरिकीमूलका रैथाने नागरिकलाई असहज परिस्थिति उत्पन्न हुनु नै ट्रम्पको विजयको मूल कारण बनेको थियो ।

मेक्सिकोसँग खुला सिमानाको कारण अमेरिकाले बेरोजगारी, आतंकवाद, लागुपदार्थको खुल्लमखुला ओसारपसार, मानवतस्करी, शृंखलाबद्ध हिंसा–हत्याको नजिकको साक्षी, तस्कर समूहबीचको झै–झगडा, मारकाटजस्ता अनेकन अवान्छित पीडा भोग्नुपरेको तथ्य एकातिर छँदैछ ।

तैपनि विश्वसामु घरमूूलि वा एक कुशल अभिभावकको भूमिका निभाउँदै आएको यस देशले कसरी सजिलै पन्छिन पाइएला भन्ने सोच राख्ने बहुसंख्यक अन्य मूलका अमेरिकीहरु र रैथाने अमेरिकीहरुबीच तादात्म्य सम्बन्धमा घनिष्ठता आउन नसकेकै कारण बहुमत प्राप्त गरी विजयी भएका राष्ट्रपति ट्रम्पले चाहेजस्तो गरी सरकारी संयन्त्र परिचालन गर्न नसकिरहेको प्रतीत हुन्छ । (विभिन्न समाचार समितिको सहयोगमा)