कलम चलाएर पत्रकार वर्गले समाज र राष्ट्रलाई पुर्याएको विशिष्ट योगदानको कदर गर्दै यस्तो स्मारक निर्माण गर्न लागिएको हो । यसले दिवङ्गत पत्रकारप्रति सम्मान र सङ्घर्षशील पत्रकारलाई प्रोत्साहन गर्ने काउन्सिलको भनाइ छ ।
‘सामाजिक रुपान्तरणका लागि पत्रकारले निभाएको भूमिकालाई झल्काउन पत्रकारले प्रयोग गर्ने डायरी, कलम र सहिद पत्रकारको टाउकाको प्रतिकृतिसहित स्मारक बनाइँदै छ,’ प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले भने ।
सोही स्थानमा २०६८ सालमा पनि पत्रकार स्मारक थियो । पहिला काठको र त्यसभित्र कागज हालेर कलम, डायरी र सहिद पत्रकारका टाउकाको प्रतिमूर्तिसहितको स्मारक बनाइएको थियो । सो स्मारक पुरानो भएर ढलेपछि पुनः स्टेनलेस स्टिलको स्मारक निर्माण गर्न लागिएको हो ।
स्मारकको निर्माण यही पुस पहिलो सातादेखि थालिएको हो । फागुनको पहिलो सातासम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्मारकको सम्पूर्ण बनोट स्टेनलेस स्टिलको हुनेछ । स्टिलको यस्तो स्मारक (स्तम्भ) नेपालमै पहिलो भएको मूर्तिकार राजु पिठाकोटेको दाबी छ ।
‘सामान्य अर्थमा यो स्मारकले एक पत्रकारको मृत्यु भएपनि सयौँ पत्रकारको जन्म हुन्छ भन्ने सन्देश दिन्छ तर, यसलाई सञ्चार जगत्ले आ–आफ्नै ढङ्गले बुझ्न सक्छ,’ मूर्तिकार पिठाकोटेले भने ।
१३ फिट उचाइ, ९ फिट लम्बाइ र ५ फिट चौडाइमा निर्माण भइरहेको उक्त स्मारकको अगाडितर्फ प्रेस काउन्सिलको लोगो राखिएको छ । स्मारकको तौल सात सय केजी रहेको छ । स्मारक निर्माणमा करिब पाँच लाख लाग्ने अनुमान गरिएको छ । बुटवल, पोखरा, हेटौंटालगायत मुलुकका विभिन्न स्थानमा पिठाकोटेले मूर्तिहरु बनाइसकेका छन् ।
पत्रकार स्मारक रहेको काउन्सिल कार्यालयको अगाडिपट्टि कवि शिरोमणि लेखनाथ पौडेल, नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका मूर्ति रहेका छन् ।
‘यो स्मारकले एक पत्रकार मरे हजारौँ पत्रकार जन्मिन्छन् र निरन्तर लेख्न सक्छन् भन्ने पनि हो,’ काउन्सिलका अधिकृत दीपक खनालले भने । (रासस)










प्रतिक्रिया दिनुहोस्