Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान फागुनमा


0
Shares

                                                                                              फाइल फोटो

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लाका एक करोड पाँच लाखलाई सो रोगविरुद्वको औषधि खुवाउन लागेको हो ।

ती जिल्लाका दुई वर्षभन्दा माथिका मानिसलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको महाशाखाका तुलसी अधिकारीले बताए ।

तर, दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरी महिलाले हात्तीपाइलेको औषधि सेवन गर्न नहुने उनको भनाइ छ ।

अभियानअन्तर्गत् पहिलो दिन २१ गते जिल्लाका विभिन्न बुथबाट औषधि खुवाइने छ भने दोस्रो र तेस्रो दिन घरदैलो कार्यक्रम गरी औषधि खुवाउने कार्यक्रम रहेको छ ।

सरकारले चालु आर्थिक वर्षमा सो रोगको सर्वे गर्ने र निःशुल्क हाइड्रोसिल शल्यक्रियाका लागि रु ३६ करोड विनियोजन गरेको छ ।

अभियान सन्चालन हुने जिल्लामा पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम, उदयपुर, ललितप, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत दैलेख, जाजरकोट, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ बैतडी र दार्चुला रहेका छन् ।

नेपालका ६१ जिल्ला हात्तीपाइले रोगको जोखिमयुक्त जिल्लामा छन् । तीमध्ये सबै जिल्लामा विभिन्न चरणमा गरी औषधि खुवाइने कार्यक्रम चलिसकेको छ ।

जसमध्ये ३१ ओटा जिल्लाका कार्यक्रम समाप्त भइसकेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि देशभरका ६० अस्पतालबाट शल्यक्रिया गर्ने प्रबन्ध मिलाइएको छ । नेपालमा करिब एक लाख हाइड्रोसिलका बिरामी रहेको अनुमान छ ।

जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भइ दुख्नु, हातगोडामा नीला–काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुष अन्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात् अन्डकोष वरिपरि पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले (फाइलेरिया) भएको हुनसक्छ ।

साथै, महिलामा यौनांग अथवा स्तन सुन्निनु र दुख्ने भएमा पनि हात्तीपाइले भएको हुनसक्छ ।

नेपालमा हात्तीपाइले रोग उचेरेचिया काँक्राफ्टि परजीविको संक्रमणबाट फैलिएको पाइएको छ ।

संक्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने हुँदा सो समयमा क्यूलेक्स या अन्य जातको लामखुट्टेबाट संक्रमण फैलने गर्दछ ।

विश्वमा अपांग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगकारूपमा चिनिएको यो रोगको नेपालका ६१ जिल्लामा संक्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि औषधि सेवन गराउने कार्य सुरु गरेको थियो ।

सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले राखेको छ । रासस