२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


पूर्व स्रोतव्यक्ति शिवाकोटीद्वारा विद्यार्थीका लागि अक्षयकोष स्थापना


0
Shares

दोलखा । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पूर्व स्रोतव्यक्ति राजेन्द्र लक्ष्मी शिवाकोटीले दृष्टिविहिन तथा श्रवण शक्ति गुमेका विद्यार्थीका लागि १ लाख ११ हजार १११ रुपैयाँ राशीको अक्षयकोषको स्थापना गरेकी छिन ।

दोलखाको अगुवा स्रोतकेन्द्र कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटमा आयोजित कार्यक्रममार्फत अक्षय कोषको घोषणा गरिएको हो ।

शिवाकोटीले विद्यार्थीहरुको शैक्षिक छात्रवृत्तिका लागि खर्च हुने गरी आफूले अक्षय कोषको स्थापना गरेको बताइन ।

उनले अक्षयकोषबाट प्राप्त व्याजले कालिञ्चोक माध्यमिक विद्यालय चरिकोट र सुस्त श्रवण भएका विद्यार्थीहरु अध्ययन गर्न चरिकोटको भीमेश्वर बहिरा प्राथमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने समेत जानकारी दिइन । सो रकमबाट प्राप्त व्याजमा त्यत्तिकै रकम थप गरी प्रत्येक वर्ष ३० भदौमा छात्रवृत्ति हस्तान्तरण गरिनेछ ।

छात्रवृत्ति कोष सञ्चालन गर्न शिवाकोटीकै अध्यक्षतामा कालिञ्चोक माध्यमिक विद्यालयका प्रधानध्यापक नवराज न्यौपाने, भीमेश्वर नगरपालिका वडा नं। ३ का वडाध्यक्ष हरिशरण शिवाकोटी, कोष सञ्चालन गर्ने परिवारको तर्फवाट श्यामप्रसाद शिवाकोटी र पत्रकार श्यामप्रसाद खतिवडा रहेको समिति समेत गठन गरिएको छ । 

अक्षयकोष स्थापनाको घोषणा कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रत्येक वर्ष अक्षयकोषमा रकम थप गर्दै लगिने र दृष्टिविहिन तथा सुस्त श्रवण भएका विद्यार्थीहरुका लागि कोषलाई क्रियाशिल गराईने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष डवल पाण्डेले करिव ४ दशक दोलखाको समग्र शिक्षा क्षेत्रमा क्रियाशिल रहनुभएकी शिवाकोटीले फरक क्षमता भएका वालवालिकाको शिक्षाका लागि अक्षयकोष मार्फत छात्रवृत्ति प्रदान गर्ने कार्यको प्रशंसा गरे ।

आफ्नो गुरुआमा समेत रहेकी शिवाकोटीलाई उनले स्रोतकेन्द्र तथा विभिन्न विद्यालयको तर्फवाट सम्मान समेत गरे ।

भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले अक्षयकोष स्थापना गरेकोमा प्रशंसा गर्दै शिवाकोटीको सामाजिक जीवन सफलताको कामना गरे । 

कालिञ्चोक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् क्याम्पस प्रमुख कृष्ण बहादुर गौतमले दोलखाकै पहिलो विद्यालय क्षमावती मावि स्थापना गर्ने नन्दप्रसाद शिवाकोटीको परिवारकै सदस्य राजेन्द्र लक्ष्मीको पहलमा स्थापना भएको अक्षयकोष एवम् छात्रवृत्तिवाट दृष्टिविहिन तथा सुस्त श्रवण भएका विद्यार्थीहरु लाभान्वीत हुने बताए ।