
फाइल फोटो
कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई भालेसहित १० ओटा र जावलाखेलको चिडियाखानाबाट एक गरी ११ ओटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो ।
एउटा भाले अर्ना चिडियाखानाबाट सोमबार दिउँसोमात्रै निकुञ्ज ल्याइपुर्याइएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले जानकारी दिए । योसँगै सोमबारसम्म निकुञ्जमा तीन भालेसहित ११ ओटा अर्ना आइपुगेको छ ।
पछिल्लो १२ दिनको अन्तरालमा यसरी अर्ना निकुञ्जमा ल्याएर छाडिएको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।
उनकाअनुसार पहिलो चरणमा अरु थप दुई गरेर १२ ओटा अर्ना कोसीबाट ल्याइने भएकाले वन्यजन्तु चिकित्सक र प्रविधिज्ञसहितको टोली कोसीटप्पु वन्यजन्तु आरक्षमा सोमबार बिहानैदेखि खटाइएको छ ।
निकुञ्जले एक भालेसहित तीनओटा अर्ना चिडियाखानाबाट ल्याउने तयारी गरेको अर्यालले जानकारी दिए ।
‘पहिलो चरणमा कोसीबाट १२ ओटा र चिडियाखानाबाट तीनओटा गरी १५ ओटा अर्ना ल्याइने छ’–अर्यालले भने–‘बाँकी पाँच अर्ना भने पछि अनुकूल समयमा ल्याइने छ ।’
वि.सं. २०७१ मा नै सरकारले पाँच भालेसहित २० ओटा अर्ना चितवन निकुञ्जमा ल्याउने निर्णय गरेको थियो । निकुञ्ज विभागले यही माघ १२ गतेदेखि अर्ना स्थानान्तरणको काम सुरु गरेको थियो ।
कोसीबाट चिडियाखानामासमेत आइतबारमात्रै एउटा भाले अर्ना स्थानान्तरण गरिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।
‘एउटा भाले अर्ना कोसीबाट चिडियाखानामा पनि पठाइयो, अब चिडियाखानामा भएको तीन अर्नालाई चितवनमा ल्याउँदै छौं’–प्रमुख कँडेलले भने–‘दुबै स्थानमा प्रजनन प्रभावकारी बनाउने उद्देश्य हो ।’
एक ठाउँबाट अर्काे संरक्षित क्षेत्रमा यसरी अर्ना स्थानान्तरण यो नेपालकै पहिलो हो ।
यसअघि, बाह्रसिंगे, कृष्णसार, गैंडा र बाघ स्थानान्तरण गरेको अनुभव प्रविधिज्ञहरुलाई छ । चितवन निकुञ्जमा सन् १९६० को दशकअघि अर्ना रहेको र पछि लोप भएको भन्ने भनाइ छ । निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन ।
कोसीमा ‘डाट’ गरेर नियन्त्रणमा लिइएको अर्ना यही माघ १४ गते पहिलोपटक चितवन निकुञ्जमा ल्याएर छाडिएको थियो ।
अर्ना राख्न चितवनको सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफल तयार पारी इन्क्लोजर (तारबारले घेरिएको विशेष क्षेत्र) बनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्