काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम र मलेसियाबीच हुने भनिएको मैत्रीपूर्ण खेल स्थगित भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मलेसियालाई मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि नेपालसँग यही २६ मार्चका लागि तय भएको खेल तत्कालका लागि स्थगित भएको हो ।
मैत्रीपूर्ण खेलका लागि एएफसीले समेत अनुमति दिएको थियो । तर, मलेसियाको यो महिना कोटाभन्दा बढी खेल हुने भएकाले फिफाबाट अनुमति नपाएको हो ।
मलेसियाले फिफाबाट एक महिनामा ३ मैत्रीपूर्ण खेल खेल्न पाउने प्रावधान रहेको छ । मलेसियाले यसअघि नै २ खेल खेलिसकेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का टिम व्यवस्थापक दावा लामाले मैत्रीपूर्ण खेल तत्कालको लागि स्थगित भएको बताए ।
उनले मलेसिया फुटबल र एन्फा मैत्रीपूर्ण खेल स्थगित गर्न सहमत भएको र नयाँ मिति घोषणा गरिने जानकारी दिए ।
मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भए पनि नेपालले कुवेतसँग उसैको मैदानमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ ।
जसमा पहिलो खेल २१ तारिखमा हुनेछ भने अर्को खेल २५ तारिखमा हुनेछ । जसका लागि नेपाली फुटबल टिम १९ तारिखमा कुवेत प्रस्थान गर्नेछ ।








प्रतिक्रिया दिनुहोस्