काठमाडौं । अर्जेन्टिनाका फुटबल लिजेन्ड डिएगो म्याराडोनाले क्युबियन आमाबाट जन्मिएका तीन बालबालिका आफ्ना सन्तान भएको स्वीकार गरेका छन् ।
पछिल्लो स्वीकारोक्तिसँगै ५८ वर्षिय विश्व फुटबलका महान हस्ती म्याराडोना आधिकारिक रुपमा आठ सन्तानका पिता बनेका छन् ।
यसअघि उनले आफ्नी पूर्वपत्नीबाहेक अरुबाट कुनै सन्तान नजन्मिएको दावी गर्दै आएका थिए ।
म्याराडोना मेडिकल जाँचका लागि हवाना जाने र यसै वर्षभित्र सार्वजनिक रुपमा ती सन्तानलाई स्वीकार गर्ने उनका वकिलले जानकारी दिएका छन् ।
ती बालबालिका दुई आमाबाट जन्मिएका सन्तान भएको बताइएको छ ।
म्याराडोनाले सन् २००० र २००५ को बीचमा केही वर्ष क्युबामा दुव्र्यसनको उपचारका क्रममा समय बिताएका थिए ।
क्युबाका तत्कालिन राष्ट्रपति फिडेल क्यास्ट्रोसँग मित्रता बढाएका म्याराडोनाले आफ्नो खुट्टामा क्यास्ट्रोको अनुहारको ट्याटु समेत खोपेका छन् ।
सन् २००३ मा डिभोर्स भएकी पूर्व पत्नीबाट उनका दुई सन्तान छन् । यसका साथै म्याराडोनाले अन्य दुई सन्तान पनि पछि स्वीकार गरेका थिए ।
उनीहरुका आमासँग अदालतमा लामो समय चलेको मुद्दापछि उनले दुई सन्तानलाई स्वीकार गरेका हुन् ।
यस्तै, म्याराडोनासँगको सम्बन्धमा भेरोनिका ओजेडा नामकी महिलाबाट ६ वर्षका डिएगो फर्नान्डो नामका अर्को पनि बच्चा रहेको छ ।








प्रतिक्रिया दिनुहोस्