Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


निर्वाचन हुन्छ, शंका नगर्नोस् : प्रधानमन्त्री, तयारीमा लाग्न आयोगलाई निर्देशन


0
Shares

निर्वाचन आयोगले विद्युतीय मतदान प्रणालीबारे छलफल गर्न मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले सबै राजनीतिक दललाई समेटेर निर्वाचनमा जाने तयारी सरकारले गरेकाले निर्वाचन नै नहुने भन्ने शंका नगर्न आग्रह गरेका हुन् ।

उनले निर्वाचनको कामलाई अघि बढाउन निर्वाचन आयोगलाई निर्देशन पनि दिए ।

प्रधानमन्त्री दाहालले निर्वाचनबाटै संविधान कार्यान्वयन हुने भएकाले सरकार त्यसमा प्रतिबद्ध रहेको जानकारी दिए । उनले निर्वाचनमा सबैले सहयोग गर्नुपर्ने पनि बताए ।

२१औं शताब्दीमा गरिने निर्वाचनलाई व्यवस्थित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै विद्युतीय भोटिङबाटै मतदान गराउन सरकार तयार रहेको बताए । सबै राजनीतिक दलसँग छलफल गरेपछि यसबारे ठोस निर्णय गरिने उनको भनाइ थियो ।

कार्यक्रममा व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने अधिकांश राजनीतिक दलका नेता सहभागी भएका थिए ।

कार्यक्रममा निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिनबारे जानकारी दिएको थियो ।

आयोगले विद्युतीय भोटिङ मेसिनबाट मतदान गराउँदा हुने सहजताबारे राजनीतिक दलका नेताहरुलाई जानकारी गराएको हो ।