Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


कुखुराको मासुको मूल्य बढ्यो


0
Shares

                                                                                                     फाइल फोटो
नेपाल कुखुरा बजार व्यवस्थापन संघले बोइलर मासुको मूल्य जिउँदोमा प्रतिकिलो रु १० र तयारी मासुमा रु २० रुपैयाँका दरले मूल्य बढाएको छ ।

बढेको मूल्य अनुसारजिउँदो मासुको मूल्य प्रतिकिलो रु १८० पुगेको संघले जनाएको छ । यसअघि, जिउँदो बोइलरको मासु प्रतिकिलो रु १७० कायम गरिएको थियो ।

फ्रेस मासु प्रतिकिलो रु २८० सम्म तिरिरहेका उपभोक्ताले अबदेखि प्रतिकिलो रु ३०० तिर्नुपर्ने भएको छ ।

मासुको माग बढ्दै गएको र त्यसको तुलनामा बोइलर कुखुराको उत्पादन कम भएका कारण मूल्य बढाउनुपरेको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले बताए ।

देशभर बोइलर कुखुराको दैनिक उत्पादन करिब ८ लाख किलो छ । चितवनमामात्रै दैनिक ७० हजार किलो मासु उत्पादन हुन्छ । यहाँको उत्पादनमध्ये करिब ३० प्रतिशत जिल्लामा खपत हुन्छ । बाँकी उत्पादन काठमाडौंलगायत मुख्य सहरमा पठाइन्छ ।

चितवनमा व्यावसायिक कुखुरा पाल्ने किसानको संख्या ७०० देखि ८०० को हाराहारीमा रहेको छ ।

नेपाल कुखुरा बजार व्यवस्थापन संघका निवर्तमान अध्यक्ष भुवनलाल जोशी माग बढेको र उत्पादन कम हुँदा बाध्य भएर मूल्य समायोजन गर्नुपरेको बताउँछन् ।

यसअघि, माघ २३ गते नेपाल ह्याचरी संघले कुखुराको चल्लाकोसमेत मूल्य बढाएको थियो । प्रतिचल्लामा रु पाँच बढाइएको संघले जनाएको छ । यसअघि, प्रतिचल्ला रु ६० तिर्दैै आएका किसानले बढेको मूल्यअनुसार प्रतिचल्ला रु ६५ तिनुपर्नेछ ।

नेपाल ह्याचरी संघका केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेलले अहिले देशभरि नै बोइलर चल्लाको माग उच्च भएको र उत्पादन कम भएको कारण चल्लाको मूल्य बढेको बताए ।

चितवन कुखुराका चल्ला, अन्डा, मासु र दाना उत्पादनका हिसाबले मुख्य जिल्ला हो ।

नेपालमा कुखुरा व्यवसायमा करिब रु ७५ अर्ब लगानी भएको बताइएको छ । रासस