Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


रुपन्देहीमा विकास बजेट २५ प्रतिशत खर्च (भिडियो रिपोर्ट)


0
Shares

 

धेरैलाई लागेको थियो, अब विकासका नाममा असारे हिलोमा ढुकुटीको पैसा रेल्ने प्रवृत्तिको अन्त्य हुनेछ । तर, लागेको बानी कसले छाड्ने ? भनेझैं यसपटक पनि त्यही शैली देखिँदैछ ।

अर्थ मन्त्रालयले चालु वर्षको ५ महिनामा जम्मा ११ प्रतिशतमात्र विकास बजेट खर्च भएको जनाएपछि यो निराशाको पटाक्षेप भएको हो ।

बजेट बनाउँदा योजना आयोगले दिएको सीमाभन्दा बढी माग्ने तर विकास खर्च गर्न भने आर्थिक वर्षको अन्त्य कुर्ने कुलतले विकासे अड्डाहरुलाई कहिल्यै छाडेन ।

त्यही कुसंस्कारले जनताको करबाट संकलित राजस्व असारतिर पुगेपछि कागजमा विकास देखाउने र दलका प्रतिनिधिहरु र कर्मचारी मिलेर स्वाहा बनाउने खेलले नेपालको विकासलाई थला पारिसकेको तीतो यथार्थ छ ।

यही कुप्रथा रोक्न भन्दै नीति–निर्माताले साउनको सट्टा जेठमा बजेट ल्याएपनि कार्यान्वयन गर्ने निकायले टेरपुच्छर लगाएको देखिएन ।

राजधानी काठमाडौंदेखि ७५ जिल्लाको विकास खर्चको हालत उही ढर्रामा देखिन्छ ।

यद्यपि, रुपन्देहीमा पनि आर्थिक वर्षको सात महिना गुज्रँदा विकास बजेट २५ प्रतिशत खर्च भएको छ । यो विगत वर्षको तुलनामा सन्तोषजनक प्रगति हो ।

भैरहवा विमानस्थल र लुम्बिनी विकास कोषको काम भने यसमा समावेश गरिएको छैन । गत वर्षको यस अवधिमा रुपन्देहीमा १५ प्रतिशतमात्रै खर्च भएको थियो ।

बुटवल, बेलहिया व्यापारिक मार्ग, उन्नत वीउ–विजनमा अनुदान, भवन निर्माण तथा भैरहवा–लुम्बिनी भूमिगत जल परियोजना, जनताको तटबन्धजस्ता आयोजनाले गति लिएको कोष तथा लेखा नियन्त्रण कार्यालयको भनाइ छ ।

यसैगरी, जिविसको भवन, सहरी विकास तथा भवन निर्माण विभाग, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायतका परियोजनामा पनि काम भैरहेको कोलेनिकाका सूचना अधिकारी हरिप्रसाद अर्यालले जानकारी दिए ।

रुपन्देहीमा यस वर्ष पुँजीगत बजेट पाँच अर्ब ४३ करोड ७८ लाख रुपैयाँ छ । त्यसमध्ये एक अर्ब २२ करोड खर्च भइसकेको छ । एक रिपोट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।