Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मात्र होइन अब अर्ना पनि हेर्न पाइने (भिडियो)


0
Shares

-राजु चौधरी,ईमेज

सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षबाट स्थानान्तरण गरी चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याइएपछि यो निकुञ्जमा वन्यजन्तुको प्रजातिसमेत बढेको छ ।

सामान्यतयाः चितवन राष्ट्रिय निकुञ्ज घुम्न चाहने जो कोहीलाई पनि दुर्लभ एकसिंगे गैंडा नै मुख्य आकर्षण हुन्छ ।

यही गैंडाका कारण चितवन राष्ट्रिय निकुञ्ज विश्वमै वाईल्ड लाईफ पर्यटनको प्रमुख गन्तव्यको रुपमा परिचित छ ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकले अब गैंडासंगै बाघ, हात्ती मात्रै होइन् दुर्लभ अर्नासमेत हेर्न पाउने भएका छन् ।

कोसीटप्पु वन्यजन्तु आरक्ष र ललितपुरको चिडियाखानाबाट केही अर्ना स्थानान्तरण गरिएपछि वन्यजन्तुको प्रजाति समेत थपिएको छ ।

यसले नयाँ स्थानको महत्वसमेत बढाएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा अहिले ११ वटा अर्ना ल्याइएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई भालेसहित १० वटा र जावलाखेलको चिडियाखानाबाट एक गरी ११ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो ।

निकुञ्जमा २० वटा अर्ना छाड्ने तयारी छ । वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले चितवन राष्ट्रिय निकुञ्ज परिवारको नयाँ सदस्य थपिएकाले यसको संरक्षणमा विशेष ध्यान दिन सरोकारवालाई निर्देशन दिएका छन् ।

चितवन निकुञ्जमा सन् १९५० र १९६० को दशकमा अर्ना रहेको तर रोगव्याधीले मासिएको अनुमान संरक्षणकर्मीले गरेका छन् । अहिले यो आरक्षमा ३० हेक्टर क्षेत्रफलमा जाली लगाएर खोर बनाई अर्ना राखिएको छ ।

खोरमा वरिपरि सोलार फेन्सिङ गरिएकाले अन्य जनावर पस्न सक्ने छैनन् भने इन्क्लोजरभित्र ४ सय मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ ।

बाँकी भागमा घाँसे मैदान निर्माण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज अर्नाको बाँसस्थान र आहारको हिसाबले उत्तम मानिएको संरक्षणकर्मी चिरन पोखरेल बताउँछन् ।

दीर्घकालीन संरक्षण र चितवन राष्ट्रिय निकुञ्जको गरीमा बढाउन कोसीटप्पुबाट अर्ना चितवन ल्याइएको हो । अन्य वन्यजन्तुको संरक्षणमा जस्तै अर्नाको संरक्षणमा पनि ध्यान दिनु जरुरी छ ।