संविधान संशोधन विधेयक संसदमा अलपत्र परिरहेको छ भने राजनीतिक सहमति जुटाउने नाममा संसद बैठक दुई साताका लागि स्थगित गरिएको छ । सरकारले निर्वाचनको मिति तोक्न सकेको छैन । आगामी वर्ष माघ ७ भित्र तीनवटै निकायको निर्वाचन गराउनुपर्ने संवैधानिक समयसीमा घर्किदैं गए पनि सरकारले निर्वाचनसम्बन्धी आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गर्न नसकेको गुनासो सत्तारुढ दलहरुबाटै सुनिन थालेको छ ।
संविधान कार्यान्वयन देशकै मुल एजेण्डा बनेको छ । तर संविधान कार्यान्वयनका लागि संविधान संशोधन गनुपर्ने बताउँदै आएको सरकारले न संशोधन विधेयक टुंगोमा पु¥याउन सकेको छ, न त निर्वाचनका लागि मिति तोकेर संविधान कार्यान्वयनमै आफ्नो इमानदारी देखाउन सकेको छ ।
मुलुकको मूल एजेण्डालाई अन्यौल मै छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल भने दिनभरको कार्यक्रममा सहभागी हुन बुधबार चितवनतिर प्रस्थान गरेका छन् ।
दाहालले बुधबार मंगलपुरमा सहिद पार्क शिलान्यास गर्ने कार्यक्रम छ । लगत्तै उनले भरतपुरमा औद्योगिक प्रदर्शनी केन्द्रको शिलान्याश गर्ने कार्यक्रम छ भने दिउँसो भरतपुरमै निर्माण व्यवसायी संघको सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री पद सम्हालेलगत्तै उनले आफू सार्वजनिक समारोह तथा रिबन काट्ने जस्ता काममा ध्यान नदिने बताएका भए पनि पछिल्ला दिन उनको व्यस्तता त्यस्तैखालका कार्यक्रममा बढ्न थालेको छ ।
यसअघि ओली सरकारप्रतिको समर्थन फिर्ता लिने क्रममा दाहालले संविधान कार्यान्वयनमा सरकार गम्भीर हुन नसकेको आरोप लगाएका थिए । ओली नेतृत्वको सरकार ढालेर कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गरेका दाहालले ६ महिना बित्दासमेत संविधान कार्यान्वयनको अवस्थामा कुनै सुधार ल्याउन सकेको देखिदैंन ।





प्रतिक्रिया दिनुहोस्