२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


ट्रम्पको आदेशप्रति अमेरिकी अदालतले सोध्योः मुस्लिममाथि विभेद भएको हो कि होइन ?


0
Shares

सात मुस्लिम मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा लगाइएको विषयमा सुनुवाई गर्दै न्यायाधीशले राष्ट्रपतिको कार्यकारी आदेश मुस्लिममाथिको विभेद हो/होइन जवाफ पेस गर्न भनेका हुन् ।

सन फ्रान्सिस्कोस्थित पुनरावेदन अदाललतमा भएको सुनुवाईमा न्यायाधीश रिचार्ड क्लिफ्टनले राष्ट्रपतिको आदेशले विश्वका १५ प्रतिशत मुस्लिम प्रभावित हुने भए त्यो मुस्लिमप्रतिको विभेदमा पर्छ/पर्दैन भन्ने जवाफ पेश गर्न भनेका हुन् ।

पक्ष–विपक्षका वकीलले आ-आफ्ना तर्क पेश गरेका छन् भने पुनरावेदन अदालतले केही दिनमा आफ्नो फैसला दिने जनाएको छ ।

राष्ट्रपति ट्रम्पले इराक, इरान, सिरियासहित मुस्लिम बाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने तथा शरणार्थी कार्यक्रम एक सय २० दिनका लागि बन्द गर्ने कार्यकारी आदेश दिएपछि यो मुद्दा चर्केको छ ।

गत हप्ता वासिङ्टनको सियाटलस्थित संघीय अदालतले राष्ट्रपतिको निर्देशन तत्कालका लागि निलम्बित गर्न आदेश दिएको थियो ।

सियाटल अदालतको फैसलाविरुद्ध पुनरावेदन अदालतमा अपिल परेको हो । पुनरावेदन अदालतले जे फैसला गरे पनि यो मुद्दा फेरि सर्वोच्च अदालत जाने सम्भावना छ ।

धेरै जसो अदालतका न्यायाधीश राष्ट्रपतिको आदेशको विपक्षमा देखिएका छन् । तर न्याय विभागले भने राष्ट्रपति ट्रम्पको साथ दिएको छ । (एजेन्सी)