दृष्यः प्रेस सेन्टर चितवनले बुधबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री । तस्वीरः राजु चौधरी/इमेज ।
नेकपा माओवादी केन्द्र चितवनले बुधबार चितवनमा आयोजना गरेको वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘अहिलेको परिवर्तन माओवादीकै कारण सम्भव भएको हो । यसलाई अपनत्व गर्ने र संस्थागत गर्ने जिम्मेवारी पनि माओवादीकै काँधमा रहेको छ’–भने ।
माओवादी कमजोर होस् भनेर एउटा शक्ति लागिरहेको भन्दै अध्यक्ष दाहालले ‘हामी एक हुनसक्यौं भने कसैले हामीलाई कमजोर बनाउन सक्दैन’–भने ।
उनले अब निर्वाचनतर्फ मुलुककेन्द्रित भएकाले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।
उनले आफूहरु मुद्दामा एक हुन नसक्दा पछि परेको भन्दै तेस्रो शक्तिकोरुपमा रहेको माओवादी आउँदो निर्वाचनमा पहिलो हुने गरी जनस्तरबाट संगठनलाई एकताबद्ध बनाएर लैजान पनि निर्देशन दिए ।
माओवादीलेमात्रै राष्ट्रलाई एकताबद्ध बनाएर अघि बढाउन सक्ने दाबी गर्दै उनले त्यसको प्रयत्नमा आफू जुटिरहेको बताए ।
नेपालको राजनीतिलाई सही बाटोमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने समय आएको भन्दै दाहालले यसका लागि पार्टीलाई पुनर्ताजगी बनाउनुपर्नेमा जोड दिए ।
उनले भने–‘दक्षिणपन्थी अतिराष्ट्रवाद बामपन्थको नाममा अहिलेको परिवर्तनलाई उल्टाउने कोसिस भइरहेको छ, तर अहिले त्यो सम्भव छैन ।’
जातीय साम्प्रदायिक विखन्डनवादको प्रवृत्ति बढेर मुलुक द्वन्द्वमा फस्नसक्ने परिस्थिति बन्नसक्ने भन्दै उनले यसको रक्षाका लागि माओवादी लागिरहेको उल्लेख गरे ।
संविधान सबैका लागि स्वीकार्यता बनाउन आवश्यक रहेको भन्दै त्यसकै पक्षमा अहिलेको सरकार लागिरहेको उनले बताए ।
उनले भने–‘संविधान घोषणा हुँदा जुन आश्वासन हामीले दिएका थियौं, त्यो पूरा गर्न हामी प्रतिबद्ध छौं ।’ रासस





प्रतिक्रिया दिनुहोस्