स्थानीय अभिभावकले विद्यालयकाबारेमा पटक–पटक हिसाब–किताब माग गरेपछि अटेर गरेका निवर्तमान प्रधानाध्यापक चन्दाखर सञ्ज्यालले विगत २०६६ सालदेखि ०७२ सम्मको विद्यालयको छात्रवृत्ति, दिवाखाजा, निजीस्रोतका शिक्षकको तलब, महिला तथा दलित छात्रवृत्तिलगायतको रकम हिनामिना गरेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जसी रोकायाले बताए ।
स्थानीय अभिभावकले विद्यालयका तत्कालीन प्रअ चन्दाखर सञ्ज्यालको ६ महिनासम्मको तलब रोक्का गरेपछि जिल्ला शिक्षा कार्यालय कालीकोटमा दिएको निवेदनअनुसार जिल्ला शिक्षा कार्यालय कालीकोटका स्रोत व्यक्ति इन्द्रप्रसाद न्यौपाने संयोजक रहेको छानबिन समितिको टोलीले गरेको लेखा परीक्षणबाट सो रकम हिनामिना भएको पुष्टि गरेको हो ।
लामो प्रयासपछि विद्यालयकाबारेमा चासो राख्ने अभिभावकको पहलमा हिसाब–किताब गरिएको शिक्षक अभिभावक संघका अध्यक्ष कालीबहादुर महताराले बताए ।
सञ्ज्यालले बेरुजु आएको रकम आफूले तलबबाट क्रमशः तिर्दै जाने सहमति भएको विद्यालयका प्रधानाध्यापक जयराज न्यौपानेले बताए ।
सो विद्यालयका निजीस्रोतका तीनजना शिक्षकले चार वर्षसम्म पाउनुपर्ने तलब नपाएको र चाहिएकोबेला समस्या टार्नका लागिमात्र रकम पाउने गरेको बताएका छन् ।
यसअघि, अख्तिायार अनुसन्धान आयोगले जिल्लाका सामुदायिक विद्यालयको आम्दानी र खर्चको विवरण जिल्ला प्रहरी कार्यालयबाट संकलन गरेको भएपनि हालसम्म सो नतिजा आउन नसकेको बताइएको छ ।
कालीकोट जिल्लामा शिक्षा क्षेत्रमा व्यापक लापरबाही बढेकोप्रति अभिभावक जुर्मुराउन थालेको अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष देवराज चौलागाइँले बताए । रासस










प्रतिक्रिया दिनुहोस्