फाइल फोटो
ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भएपछि ऊर्जाले सो निर्देशन दिएको हो ।
मुलुकभित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना निर्माणको चरणमा रहेको र सोही आयोजनाको अध्ययन गर्दा साधन, स्रोत र पैसाकोसमेत बचत हुने भन्दै ऊर्जाले विदेश जाने काम नगर्न आग्रह गरेको थियो ।
तर, नलसिंहगाड विकास समितिका पदाधिकारीले भने विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर)को काम गरिरहेको परामर्शदाता कम्पनीले नै खर्च व्योहोर्ने भन्दै भ्रमण गर्दा उपयुक्त हुने जनाएको थियो ।
ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनाको नाममा अध्ययन गर्ने भए माथिल्लो तामाकोसी जान आफूले निर्देशन दिएको जानकारी दिए ।
‘मेरो, ऊर्जासचिवकोसमेत भ्रमणदलमा नाम राखेर प्रस्ताव आएको थियो । मैले, मेरो र सचिवज्यूको नाम भने काटिदिएँ । आयोजनाका अन्य पदाधिकारीलाई पनि विदेश जानेभन्दा स्वदेशमा नै निर्माण भइरहेका आयोजनामा अध्ययन गर्न भनेको छु’–मन्त्री शर्माले भने ।
आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरले भने नेपाल सरकारलाई कुनैपनि आर्थिकभार पर्ने गरी आफूहरुले विदेश भ्रमण गर्न नलागेको बताए ।
विस्तृत् अध्ययन प्रतिवेदन तयार पार्नेक्रममा भएको सम्झौताबमोजिम नै भ्रमणको मनोनयन भएको र त्यसमा कुनैपनि खर्च सरकारको नपर्ने उनको भनाइ छ ।
आयोजनाका पदाधिकारीले भने अमेरिकाको क्यालिफोर्नियाको भ्रमण गर्न चाहेका थिए । तर, सो स्थानमा हाल हिउँ परिरहेको भन्दै अष्ट्रेलिया जाने कार्यक्रम बनाएको हो ।
कुल ४१० मेगावाट क्षमताको सो आयोजनालाई प्राविधिकरुपमासमेत सवल र शसक्त बनाउने लक्ष्यका साथ भ्रमणको कार्यक्रम बनाइएको कार्यकारी निर्देशक कुँवरको भनाइ छ ।
भ्रमणको प्रस्तावमात्रै तयार भएको जानकारी दिँदै कार्यकारी निर्देशक कुँवरले अर्थ मन्त्रालयले स्वीकृति नदिँदासम्म भ्रमण हुननसक्ने बताए ।
भ्रमणदलमा ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत, आयोजनाका अध्यक्ष शेरबहादुर शाही, कार्यकारी निर्देशक कुँवरलगायत सहभागी हुने गरी प्रस्ताव गरिएको छ ।
प्राविधिक क्षमता अध्ययन गर्ने शीर्षकमा आयोजना विकास समितिसँग रु दुई करोड बजेट रहेको छ ।
आयोजनाको हाल डीपीआर काम अगाडि बढिरहेको छ । आगामी वर्षभित्र डीपीआर तयार गरेर निर्माणमा जाने योजनामा नलसिंहगाड आयोजना विकास समितिले जनाएको छ ।
आयोजनाको पहुँचमार्ग, कर्मचारी आवासगृह तथा मुआब्जा वितरणको कार्य हाल जारी छ ।
राष्ट्रिय गौरवको आयोजना बनाउन प्रस्ताव
जाजरकोटमा आयोजनास्थल रहेको सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन मन्त्रिपरिषदमा प्रस्ताव लगिएको छ ।
ऊर्जामन्त्री शर्माले स्थानीयवासी, राजनीतिक दल तथा सरोकार भएका सबै निकायको आग्रहअनुसार नै राष्ट्रिय गौरवको आयोजना बनाउनेसम्बन्धी प्रस्ताव गरेका छन् ।
आयोजनालाई राष्ट्रिय गौरवको बनाउन सकिए कार्यान्वयनमा लैजान सहज हुने आयोजनाको बुझाइ रहेको छ ।
‘मन्त्रीज्यूले एकदमै महत्व दिएर आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्नुभएको छ । आशा छ, सबैको सहयोग भए सहज हुन्छ’–कुँवरले भने । रासस









प्रतिक्रिया दिनुहोस्