२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


मोटरसाइकल बोकेर खोला तार्नुपर्ने बाध्यता, बनाउन लागेको पुल पनि अलपत्र


0
Shares

दुर्गा उपाध्याय

कञ्चनपुर, फागुन २४ । कञ्चनपुरको दोदा नदीमा पुल नबन्दा लालझाँडी गाउँपालिकाका स्थानीय समस्यामा परेका छन् । पुल निर्माण भइरहेको ठाउँमा समस्या देखिएको भन्दै ठेकेदार कम्पनीले काम रोकेपछि स्थानीय झन् चिन्तित बनेका छन् ।

वाणी–देखतभूली–पर्सीया सडकखण्ड लालझाँडी गाउँपालिकालाई राजमार्गसँग जोड्ने एकमात्रै बाटो हो । तीनतिर नदीले घेरिएको यो गाउँपालिकामा न त सडक र यातायातको सुविधा छ, न भौतिक विकास नै भएको छ ।

समस्यै समस्यामा गुज्रिएका स्थानीयलाई दोदा नदी अर्को सास्ती बनेर घेरिएको छ । वर्षायाममा उर्लेर आउने नदीको भेलबाट आँखै अगाडि कसैको खेतबारी बगायो, कसैले आफन्तजन गुमाए । त्यहीँबाट वारपार गर्नुपर्दा उनीहरुको आङ नै सिरिङ्ग हुने गर्दछ ।

हिउँदमा जसोतसो काठेपुल बनाएर ओहोरदोहोर गरे पनि वर्षायाममा भने नदी वारपार गर्नु नै ठूलो चुनौती बनिदिन्छ । ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यतामा रहेकाले अधिकांशले बर्खामा यो बाटो नै प्रयोग गर्दैनन् ।

पुल नबन्दा २५ हजार जनसंख्या रहेको सिँगो गाउँपालिका नै नदीको त्रासमा बाँचेको छ ।

उसो त २०७२ पुस मा ३ वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने शर्तमा लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभीसँग पुल बनाउने सम्झौता भएको थियो । तोकिएको समयावधि सकिएको छ तर निर्माणाधीन पुल अलपत्र छ ।

उता, सडक डिभिजन कार्यालय महेन्द्रनगरले भने अहिलेको ठाउँमा पायल बनाउँदा समस्या भएकाले  निर्माण व्यवसायीले माटो परीक्षण गरेर नयाँ रिपोर्ट बुझाएकाले अध्ययनका लािग विभागमा पठाएको जनाएको छ ।

यस्ता सम्वेदनशील विषयमा सुरुमै गम्भीर बनेर काम नगर्दा एउटै काम पटकपटक गर्नुपर्ने भएको छ । यसले स्थानीयले असहजता भोग्नुपर्ने त छँदैछ करोडौँको लगानी समेत नोक्सान हुने देखिएको छ । 

भिडियो