Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


सम्पदा पुनःनिर्माणमा ठेक्काप्रथा रोक्न हनुमानढोका दरबार क्षेत्रका बासिन्दाको माग


0
Shares

स्थानीयबासिन्दाले शुक्रबार हनुमानढोका दरबारनजिकैको शिव–पार्वती डबलीमा अन्तरक्रिया एवं कार्यक्रम गरी सम्पदा पुनःनिर्माणमा ठेक्काबाट नभइ अमानतबाट गरिनुपर्ने माग राखेका हुन् ।

उनीहरुले पुनःनिर्माण गर्दा सम्पदाको स्वरुप र बनावट आफ्नै मौलिकताअनुसार पुरानै शैलीमा हुनुपर्ने र स्थानीय जनसहभागिता अपरिहार्य भएकोमा जोड दिए ।

कार्यक्रमका संयोजक गणपतिलाल श्रेष्ठले स्थानीयबासिन्दा आफैं श्रम र आर्थिक सहयोग दिन तयार हुँदाहुँदै पुरातत्व विभागले पुनःनिर्माण गर्दा ठेक्कामा लगाएर कमिसनको खेल खेल्न थालेको आरोप लगाए ।

कार्यक्रममा पुरातत्वविद् साफल्य अमात्यले ठेक्का प्रणालीमा कमसल सामानको प्रयोग र धेरै कमिसनको खेल हुने भएकाले त्यस्तो निर्माणले सम्पदा बन्न नसक्ने जिकिर गरे ।

उनले सम्पदाको पुनःनिर्माण गर्दा जगदेखिकै हरेक दिनको निर्माणको टिपोट राख्नुपर्नेमा जोड दिए ।

काष्ठमाण्डप पुनःनिर्माण समितिका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रभित्रका मठमन्दिरको पुनःनिर्माणमा तान्त्रिक विधि अपनाउनुपर्ने भएकाले ठेक्काबाट बनेको मठमन्दिर ‘आत्माबिनाको शरीर’जस्तै हुने तर्क राखे ।

काठमाडौं महानगरपालिकाले काष्ठमान्डप पुनःनिर्माण ठेक्कामा दिएर जथाभावी खन्न थालेपछि स्थानीयवासीले विरोध गरेका हुन् ।

त्यसैगरी, दशअवतार त्रैलोक्य नारायण मन्दिरमा सम्बन्धित पुजारी तथा सोही ठाउँमा रहेका सम्बन्धित व्यक्ति तथा संस्थालाई कुनै जानकारी नदिइ एक्कासि ठेक्का पाएको कम्पनीले १२ फिट जस्ताको बार बाँधेर खन्न थालेपछि गत माघ ११ गते स्थानीयवासीले काम रोकाएर तालाबन्दी गरेको बताइएको छ ।

Skip This