२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


‘विश्वकै सबैभन्दा बढी तौल भएकी महिला’ शल्यक्रियाका लागि भारततिर


0
Shares

एमान अहमद अब्देल अती, ३६, लाई इजिप्टको विदेशमन्त्रीको पहलमा भिसा प्रदान गरिएपछि यही शनिबार उनी मुम्बई आइपुग्ने बताइएको छ ।

अब्देल अतीलाई ल्याउन एक विमानलाई विशेष सुधारगरी शनिबार इजिप्टबाट मुम्बईका लागि पठाइनेछ भने उनको उपचार मुम्बईकै सैकी अस्पतालमा हुनेछ ।

उनलाई भारत ल्याउने प्रबन्ध मिलाउन इजिप्टका चिकित्सकहरुको टोली विगत १० दिनदेखि कार्यरत् थिए ।

अब्देल अतीकी बहिनीले विश्वकै सबैभन्दा बढी तौल भएकी आफ्नी दिदीलाई उपचारको आवश्यकता देखिएको भन्दै सन् २०१६ को अक्टोबरमा पहल गरेपछि भारतीय उक्त अस्पतालले उपचार सम्भव भएको भन्दै उपचारका लागि इच्छा प्रकट गरेको थियो ।

तर, उनलाई इजिप्टदेखि भारतसम्म विमानमा ल्याउन स्वास्थ्यका दृष्टिकोणले सम्भव नभएको भन्दै विमान कम्पनीले अस्वीकार गर्दै आएको बताइएको छ ।

यसबाहेक इजिप्टबाट भारत उपचारका लागि ल्याउने विषयमा उनलाई भिसा पनि मिलेको थिएन ।

अब्देल अतिसानो छँदा भएको स्वास्थ्य परीक्षणमा हात्तीपाइले रोगको संक्रमण पाइएको थियो । यसबारे भारतीय चिकित्सक लाकदावालाले समाचार पढेपछि आफूले अब्देल अतिको निःशुल्क उपचार गर्ने बताएका थिए ।

सुरुमा खुट्टाको आकार असाधारणरुपमा ठूलो देखिएको तर समयसँगै शरीरका अन्य भाग पनि सुन्निएर ठूलो भएको उनकी बहिनीले बताइन् ।

बिरामी भएको केही वर्षपछि उनलाई मस्तिष्कघातसमेत भएको बताइन्छ । यसपछि उनी ओछ्यानमा परेको र पछि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट ग्रसित छिन् ।

उनी विगत २५ वर्षयता घरबाट बाहिर निस्कन सकेकी छैनन् । रासस/एएफपी