प्रधानमन्त्री दाहालको दोहोरो चरित्रका कारण चुनाव अनिश्चित : महत

शनिबार राजधानीमा भएको साक्षात्कारमा नेता महतले प्रमुख प्रतिपक्षी दलका नेताहरुसँग भेट्दा निर्वाचनको र मधेसी मोर्चासँग संविधान संशोधनको कुरा गर्ने प्रधानमन्त्रीको सोच नै विरोधाभाषपूर्ण रहेको टिप्पणी गरे ।
उनले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनलाई आधार मानेर अघि बढ्दा जेठमा स्थानीय निकायको चुनाव सम्भव नहुने पनि बताए ।
यथास्थितिमा स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन पूर्ण नभएको भन्दै उनले यसलाई सर्व–स्वीकार्य बनाउनुपर्ने धारणा राखे ।
उनले जेठको पहिलो साता चुनाव नभए लगत्तै सरकारको नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकोले त्यसपछि चुनाव हुन नसक्ने बताए ।
उनले अहिलेको संरचनालाई नै आधार मानेर स्थानीय चुनाव गर्न सुझाव पनि दिए ।
एक अर्को प्रसंगमा उनले प्रहरी प्रमुखको नियुक्तिमा राजनीतिक भागबन्डा हुनु र यसले विवाद जन्माउनु कुशासनको उदाहरण भएको बताए ।