२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


विश्वकै सबैभन्दा बढी तौल भएकी अब्देल अतिको शल्यक्रिया एक महिनापछि


0
Shares

उनको शल्यक्रिया करिब एक महिना अस्पतालमा राखी अन्य उपचार गरिएपछिमात्र हुने अस्पताल स्रोतले बताएको छ ।

एमान अहमद अब्देल अती, ३६, लाई इजिप्टको विदेशमन्त्रीको पहलमा भिसा प्रदान गरिएपछि उनका लागि इजिप्टको एक विमानलाई विशेष सुधारगरी शनिबार इजिप्टबाट मुम्बई ल्याइएको हो । उनको उपचार मुम्बईकै सैकी अस्पतालमा हुनेछ ।

चिकित्सकले उनलाई विशेष विमानमा ल्याउँदा समस्या नहोस् भनेर आवश्यक औषधि र विशेष सावधानीसाथ उनको शरीर राख्न मिल्ने वेडकोसमेत व्यवस्था गरेका थिए ।

उनलाई भारत ल्याउने प्रबन्ध मिलाउन इजिप्टका चिकित्सकहरूको टोलीले विगत १० दिनदेखि तयारी गरेको थियो ।

अब्देल अतीकी बहिनीले विश्वकै सबैभन्दा बढी तौल भएकी आफ्नी दिदीलाई उपचारको आवश्यकता देखिएको भन्दै सन् २०१६ को अक्टोबरमा पहल गरेपछि भारतीय शल्यचिकित्सक मुफाजल लाकदावालाले अब्देल अतिको सम्पूर्ण उपचार निःशुल्क गर्ने बताएका थिए ।

तर, उनलाई इजिप्टदेखि भारतसम्म विमानमा ल्याउन स्वास्थ्यका दृष्टिकोणले सम्भव नभएको भन्दै विमान कम्पनीले अस्वीकार गर्दै आएको बताइएको छ ।

यसबाहेक इजिप्टबाट भारत उपचारका लागि ल्याउने विषयमा उनलाई भिसा पनि मिलेको थिएन ।

अब्देल अति सानो छँदा भएको स्वास्थ्य परीक्षणमा हात्तीपाइले रोगको संक्रमण पाइएको थियो ।

सुरुमा खुट्टाको आकार असाधारणरूपमा ठूलो देखिएको तर समयसँगै शरीरका अन्य भाग पनि सुन्निएर ठूलो भएको उनकी बहिनीले बताइन् ।

बिरामी भएको केही वर्षपछि उनलाई मस्तिष्कघातसमेत भएको बताइन्छ । यसपछि उनी ओछ्यानमा परेको र पछि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट ग्रसित छिन् ।

उनी विगत २५ वर्षयता घरबाट बाहिर निस्कन सकेकी छैनन् । रासस/एएफपी/सिन्ह्वा