राप्रपामा महाधिवेशनको तयारी, आधिकारिक दृष्टिकोणमा फेरि द्वन्द्व (भिडियो) • Image Khabar Image Khabar


राप्रपामा महाधिवेशनको तयारी, आधिकारिक दृष्टिकोणमा फेरि द्वन्द्व (भिडियो)


Imagekhabar
१ फाल्गुन २०७३, आईतवार १४:२६

राप्रपामा महाधिवेशनको तयारी, आधिकारिक दृष्टिकोणमा फेरि द्वन्द्व (भिडियो)

मुद्दामा सहमति नहुँदै एकीकृत भएको राप्रपाको देशभरमा स्थानीय अधिवेशन सकिएको छ । महाधिवेशनमा स्वदेश तथा विदेशबाट करिब ३ हजार ३ सय प्रतिनिधि सहभागि हुनेछन् । महाधिवेशनको उद्घाटनमा लाखौं मानिस उतारेर शक्ति प्रदर्शन गर्ने तयारी पनि राप्रपाले गरिरहेको छ ।

दुबै राप्रपाका नेताहरुले महाधिवेशनको सबै तयारी पूरा भएको बताएका छन् । फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा सम्पन्न हुने महाधिवेशन व्यवस्थित र भव्य बनाउन राप्रपाले सबै शक्ति प्रयोग गरेको नेताहरुले बताएका छन् ।

संवैधानिक राजतन्त्रको वकालत गर्ने राप्रपा नेपाल र गणतन्त्रमा भोट हालेको राप्रपाबीच अहिले पनि राजनीतिक दर्शनमा भिन्नता छ । हिन्दूराज्य बनाउनुपर्ने जगमा टेकेर भएको एकता कतै फेरि राजतन्त्रको विषयले महाधिवेशनमा विवाद बढाउने त होइन भन्ने देखिएको छ । राजसंस्थाको विषय महानधिवेशनबाट टुंगो लगाउने भन्दै दुई पार्टी एक भएका थिए । तर महाधिवेशन नजिकिएसँगै फेरि यो विषयमा विवाद देखिन थालेको छ ।

राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ अहिलेका युवा तथा देशको भावनालाई समेटेर पार्टीले यस विषयमा निर्णय गर्ने बताउँछन् । महाधिवशेशन अघि नै शीर्ष तहमा यस विषयमा सहमति खोजिने र त्यो नभए बहुमतका आधारमा निर्णय गरिने उनको भनाइ छ ।

राप्रपा प्रवक्ता राजाराम श्रेष्ठ भने संवैधानिक राजतन्त्रको आवश्यकतामा जोड दिंदै महाधिवेशनअघि नै राजसंस्थाको वकालत गर्ने गरी पार्टीले सहमति जुटाएर महाधिवेशनमा प्रस्ताव लाने दाबी गर्छन् ।

राप्रपामा नीतिसँगै नेतृत्वको विवाद पनि उत्तिकै छ । हिजोको राप्रपा नेपाललाई प्रतिनिधित्व गर्ने कमल थापा र राप्रपाका नेताहरु पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नीतिसँगै नेतृत्वको आकांक्षी बनेका छन् । नीतिमै अस्पष्ट रहेको राप्रपाले दुबै पक्षको भावना समेट्ने गरी आगामी महाधिवेशनबाट नीति र नेतृत्व चयन गर्न सक्छ वा सक्दैन भन्नेमा नेपाली राजनीतिका सरोकारवाला अरु पक्ष भने आँखा लगाइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्