
काठमाडौं, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान आकाशमा केहीबेर ‘होल्ड’ गरिएको सम्बन्धमा छानबिन हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही फागुन २१ गते झापाको चन्द्रगढीबाट काठमाडौं अवतरण गर्नेक्रममा यती एअरलाइन्सको विमान ‘होल्ड’ गरिएकाबारे छानबिन गर्न सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो ।
समितिमा पर्यटन मन्त्रालयका सहप्रवक्ता प्रकाशचन्द्र ढकाल, कानुन मन्त्रालयका उपसचिव सूर्यवंश शर्मा कँडेल, नेपाली सेनाका क्याप्टेन सुवास थापा र नेपाल नागरिक उड्डयन प्राधिकरणका नवीना कर्माचार्य छन् ।
विशिष्ठ व्यक्तिको उडान होल्ड भएको सम्बन्धमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नेगरी जिम्मेवारी दिइएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।
फागुन २१ गते मंगलबार झापाबाट फर्कनेक्रममा प्रधानमन्त्री ओली चढेको विमान अवतरणअघि आकाशमा तीन फन्का लगाएको बताइएको छ ।
विमान होल्ड गरेर लापरबाही र बेवास्ता गरिएको पाइए एअर ट्राफिक कन्ट्रोलरलाई कारबाही गर्न समितिले सिफारिस गर्नेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले सम्बन्धित एअरलाइन्सले अतिविशिष्ठ व्यक्ति (भीभीआइपी)को उडानबारे विमानस्थललाई जानकारी नगराएका कारण प्रधानमन्त्री चढेको जहाज होल्डमा परेको प्रतिक्रिया दिए । रासस
प्रतिक्रिया दिनुहोस्