अमेरिकास्थित नेपाली दूतावासले सहयोग नगरेको गुनासो • Image Khabar Image Khabar


अमेरिकास्थित नेपाली दूतावासले सहयोग नगरेको गुनासो


Imagekhabar
२ फाल्गुन २०७३, सोमबार १७:२५

अमेरिकास्थित नेपाली दूतावासले सहयोग नगरेको गुनासो

 

त्यस्तै, जुलाई १ मा नेपाली वैज्ञानिक किरण लामिछानेको कार दुर्घटनामा परी डलासमा निधन भयो ।

त्यसैगरी, अमेरिकाको ओक्लाहोमा नर्सिङ पढ्दै गरेकी १९ वर्षीया निशा कार्कीको हृदयघातका कारण गत १६ नोभेम्बरमा निधन भयो ।

उता, दुई महिनाअघि एट्लान्टा राज्यमै एकै परिवारका चारजना नेपालीको कार दुर्घटनामा ज्यान गयो ।

अमेरिकामा पछिल्लो समय नेपालीले विभिन्न दुर्घटनामा परी ज्यान गुमाइरहेका छन् । तर, अमेरिकास्थित नेपाली दूतावासले नेपालीको पीडामा कुनै चासो नै नलिने गरेको अमेरिकामा बस्ने नेपालीले गुनासो छ ।

नेपालीले ज्यान गुमाउँदा उक्त ठाउँमा गएर समवेदना दिनुको साटो दूतावासका जिम्मेवार पदाधिकारीले फोन नै नउठाउने गरेको आरोप उनीहरुको छ ।

नेपालीको दुखद् निधन हुँदा सम्बन्धित ठाउँमा गइ शव नेपाल पठाउन दूतावासले पहल गर्नुपर्ने स्वाभाविक प्रक्रिया हो । तर, शव नेपाल पठाउन पहल गर्नाको साटो कुनै दयित्वबोधसमेत नगरेको पीडितको गुनासो छ ।

गत जुलाई १ तारिखका दिन आफ्नो भाइ किरण लामिछाने गुमाएका दाइ कृष्ण लामिछानेले घटनालगत्तै कागजी प्रक्रिया मिलाउन पटक–पटक फोन गर्दा पनि दूतावासले फोन नउठाएको गुनासो गरे ।

नेप्लिज सोसाइटी टेक्सासका अध्यक्षसमेत रहेका लामिछानेले भने–‘अमेरिकाको नासामा साइन्टिस्ट रहेको मेरो भाइको दुर्घटनामा परी निधन भइसकेपछि मैले शव नेपाल पठाउनुपर्‍यो भनेर दूतावासका अधिकारीलाई धेरै फोन गरें । तर, फोन उठेन । मैले १९ पटकभन्दा बढी कल गरें, कुनै ‘रेस्पोन्स’ भएन, यसमा असाध्यै दुःख लाग्यो ।’

आफ्नो भाइको शवमात्रै नभइ निशा कार्की र रुसल श्रेष्ठकोसमेत शव नेपाल पठाउन कैयौंपटक दूतावासमा पहल गरेको लामिछानेले बताए ।

अमेरिकामा नेपालीको निधन भएपछि त्यहाँको राज्यले मुत्यु सर्टिफिकेट दिन्छ, त्यसपछि नेपाली राजदूतावासले ‘रियल स्ट्याम’ लगाउनुपर्छ, त्यसका लागि पनि हप्तौंसम्म लाग्ने गरेको छ ।

गत माघ २४ गते काठमाडौंमा सिँचाइमन्त्री दीपक गिरीको प्रमुख आतिथ्यमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष लामिछानेले मन्त्रीकैसामु नेपाली दूतावासका जिम्मेवार पदाधिकारीले सहयोग नगरेको गुनासो गरेका थिए ।

जवाफमा मन्त्री गिरीले राजदूतावासको भूमिकाबारे आफूले कुरा उठाउने बताएका थिए । उक्त कार्यक्रममा स्व. निशा कार्कीको परिवारलाई रु ४५ लाख सहयोग गरिएको थियो ।

दूतावासले एअरलाइन्ससँग सम्पर्क गरी शव पठाउन कागजी प्रक्रिया मिलाइदिए सहज हुने पीडितको भनाइ छ ।

अध्यक्ष लामिछानेकाअनुसार गएको एक वर्षमामात्रै टेक्सासमा १२ नेपालीको दुर्घटनामा परी निधन भएको छ । जसमा जम्मा दुईओटा शवमात्रै नेपाल ल्याउन सकिएको छ ।

अमेरिकामा जो–कोही नेपालीको निधन भएपनि निधन भएको व्यक्तिका सम्बन्धमा दूतावासले कागजात प्रमाणित नगरेसम्म शव नेपाल ल्याउन पाइँदैन ।

तर, अहिले दूतावासले समस्यामा परेका नेपालीका विषयमा कुनै सोधखोज नै नगर्ने गरेको गुनासो नेपालीको छ ।

यता, परराष्ट्र मन्त्रालयले भने नेपालीको पीडामा स्वाभाविकरुपमा दूतावासले सहयोग गर्नुपर्ने र गर्दै आएको पनि बताएको छ ।

मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले नेपाली नागरिकलाई परेको पीडामा स्वाभाविकरुपमा दूतावासले सहयोग गर्ने बताउँछन् ।

‘दूतावासले सहयोग नगरेको भन्ने हुनै सक्दैन, त्यसबारे केही औपचारिक जानकारी आएको छैन, नेपाली नागरिक हो भने उनीहरुको हकमा कन्सुलर सपोर्ट दिन, कागजी र कानुनी प्रक्रिया मिलाइ शव पठाउन भूमिका निर्वाह गर्नुपर्छ र गर्दै पनि आएको छ’–उनले भने ।

कुनैपनि नेपालीको निधन भएको खन्डमा अमेरिकास्थित सामाजिक संघ–संस्थाको समन्वय र पहलमा दूतावासले शवको कागजी प्रक्रिया मिलाएर सम्बन्धित ठाउँमा पुर्‍याउन सहयोग गर्ने गरेको अधिकारीहरु बताउँछन् ।

पछिल्लो आँकडाअनुसार हाल अमेरिकामा करिब चार लाख ५० हजार नेपाली छन् । तीमध्ये टेक्सासमा ७० हजारभन्दा बढी नेपाली रहेको बताइन्छ ।

अन्यत्रभन्दा टेक्सासमै बढी नेपालको दुर्घटनामा परी निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्