१ असार २०८१, शनिबार | Sat Jun 15 2024


विप्लव माओवादी विद्यार्थीद्वारा सात स्ववियु निर्वाचन कार्यालयमा ताला


0
Shares

                                                                                    फाइल फोटो
आइतबारदेखि उक्त संगठनले जिल्लाका विभिन्न क्षेत्रमा रहेका क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको हो ।

बनेपामा रहेको चैतन्य बहुमुखी क्याम्पस, काभ्रे बहुमुखी क्याम्पस, पनौतीमा रहेको तेजगंगा बहुमुखी क्याम्पस र इन्द्रेश्वर क्याम्पस, धुलिखेल क्याम्पस धुलिखेल, सर्वमंगला बहुमुखी क्याम्पस, पाँचखाल र डेडीथुम्का पब्लिक क्याम्पस डेडीथुम्कामा सो विद्यार्थी संगठनले ताला लगाएको हो ।

उक्त विद्यार्थी संगठनले अहिले घोषणा गरेको स्ववियु निर्वाचनको मिति उपयुक्त नभएको भन्दै क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाइदिएको चैतन्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जुजुभाइ मानन्धरले बताए ।

अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला अध्यक्ष दिनेश सारुले आफ्नो संगठनको कुनैपनि मागको सुनुवाइ नभएको र तीन विद्यार्थी संगठनले सिन्डिकेट नै लगाएर निर्वाचनमा गएका कारण बाध्य भएर ताला लगाउनुपरेको बताए ।

‘हामीले पटक–पटक भनेका थियौं कि हाम्रो पार्टीको अधिवेशन चलिरहेकाबेलामा निर्वाचन नगरौं भनेर, तर त्यही समयमा निर्वाचन गर्न समय तोकिदिएका कारण हामीले बाध्य भएर स्ववियु निर्वाचन कार्यालयमा ताला लगाउनुपरेको हो’–अध्यक्ष सारुले भने ।

उनले तीन विद्यार्थी संगठनले स्ववियु निर्वाचनमा सिन्डिकेट नै लगाएको आरोप लगाए ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको भन्ने जानकारी आएपनि क्याम्पस प्रमुखहरुले जानकारी नै नदिएको बताए । रासस