
पछिल्लो समय प्रेमी–प्रेमिकाका लागि पाल्पाको श्रीनगर, बतासेडाँडा, लवडाँडा, प्रभासको वंशगोपाल क्षेत्र र रानीमहल दरबार आकर्षणको केन्द्रबिन्दू बनेको छ ।
नेपाली समाजमा प्रणय दिवसको महत्व बढ्दै जाँदा एकान्तस्थलका साथै पाल्पाको रानीमहलको महत्व पनि दिनहुँ बढ्दै गएको छ । युवा–युवतीहरु आफ्नो साँचो प्रेमभाव व्यक्त गर्न पाल्पाको रानीमहल पुग्ने गरेका छन् ।
प्रेम दिवस होस् वा नहोस् प्रत्येक दिन सयौं युवा–युवती ‘प्रेमको प्रतीक’ रानीमहल पुगी आफ्नो प्रेमभाव व्यक्त गर्दै आएका छन् ।
कालीगन्डकी किनारमा अवस्थित रानीमहल दरबारलाई नेपाली युवा–युवतीले राणाकालीन समयदेखि प्रेमको प्रतीककोरुपमा मान्दै आएका छन् ।
खड्गशमशेर राणाले आफ्नी रानी तेजकुमारीको सम्झनामा पाल्पाको कालीगन्डकी किनारामा रानीमहल दरबार निर्माण गरेका हुन् ।
खड्गशमशेरको रानी तेजकुमारीसँग अत्यन्तै प्रेमभाव थियो । रानी तेजकुमारीका हरेक इच्छा, चाहना, आकांक्षा खड्गशमशेरले पूरा गर्दै आएको विभिन्न पुस्तकहरुमा उल्लेख छ ।
अन्तिम समयमा रानी तेजकुमारीले कालीगन्डकीको उत्तरबाहिनी क्षेत्रमा आफ्नो प्राण त्याग गर्ने इच्छा राखेपछि ज्योतिषहरुलाई देखाइ हाल निर्माण भएको रानीमहलको छेउमा प्राण त्याग गरेकी थिइन् ।
सोही स्थानमा खड्गशमशरेले रानी तेजकुमारीको सम्झनामा तेजमहल निर्माण गरेका हुन् । खड्गशमशेरले वि.सं. १९४९ सालदेखि निर्माण सुरु गरेको रानीमहल दरबार १९५५ सालमा पूरा भएको थियो ।
बेलायती दरबार शैलीमा निर्माण गरिएको प्रेमको प्रतीक ‘तेजमहल’ हाल रानीमहल दरबारमा परिणत भएको हो ।
प्रेम साँचो हुनुपर्छ । प्रेमलाई बासनामा परिणत गर्दा हाल कयौं विकृति विसंगति हुँदै हत्या तथा आत्महत्याका घटना बढिरहेको समयमा खड्गशमशेर र तेजकुमारीको प्रेम सम्बन्धले आजका युवा–युवतीलाई सच्चा प्रेम अनन्तकालसम्म दिगो हुने सन्देश दिएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्