यस्तो छ ओली निवासमा बसेको एमाले स्थायी कमिटी बैठकका निर्णय • Image Khabar Image Khabar


यस्तो छ ओली निवासमा बसेको एमाले स्थायी कमिटी बैठकका निर्णय


Imagekhabar
३ फाल्गुन २०७३, मंगलवार २०:१७

यस्तो छ ओली निवासमा बसेको एमाले स्थायी कमिटी बैठकका निर्णय

                                                                                        फाइल फोटो
नेकपा एमालेले २०७४ मंसिरसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै एमाले प्रवक्ता योगेश भट्टराईले भने–‘बैठकमा संविधानले तोकेकै समयभित्र तीनओटै तहको निर्वाचन हुनुपर्ने भन्नेमा बृहत् छलफल भयो, आगामी वैशाख/जेठमा स्थानीय तहको निर्वाचन र मंसिरमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’

निर्वाचनका लागि आवश्यक कानुनी र राजनीतिक वातावरण बनाउन पनि बैठकले ध्यानाकर्षण गराएको छ ।

निर्वाचनका लागि सबैसँग वार्ता र संवाद अगाडि बढाउनुपर्नेमा बैठकमा छलफल भएको बताउँदै उनले मधेसी मोर्चासँग पार्टीका तर्फबाट एमालेका विभिन्न नेताले पछिल्लो समयमा भइरहेको छलफल र वार्तालाई प्रभावकारी एवं उपयोगी ढंगले अगाडि बढाउनेबारेमा छलफल भएको बताए ।

प्रवक्ता भट्टराईले देशलाई निकास दिन विभिन्न दलसँगको वार्ता र छलफललाई अगाडि बढाउँदै जानुपर्नेबारेमा बृहत् छलफल भएको बताए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीरताका साथ छलफल भएको बताउँदै उनले देशको समस्या समाधानका लागि सबै दलसँगै नै अगाडि बढ्नुपर्ने बारेमा छलफल भएको जानकारी दिए ।

देशको वर्तमान समस्या समाधानका लागि एमालेले सबै दललाई सँगै लिएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकमा फागुन १४ गते तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निर्धारित् समयमा गर्न बैठकले माग गरेको छ ।

साथै, नेपाल पत्रकार महासंघको अधिवेशन गर्न रोक लगाउने उद्देश्यले भएको तालाबन्दीलाईसमेत पार्टीले गम्भीररुपमा लिएको छ ।

उनले भने–‘स्ववियु निर्वाचनलाई लिएर अहिले विभिन्न किसिमका आगजनी, तालाबन्दी गर्ने खालका अराजक गतिविधि भएका छन्, त्यसलाई पार्टीले गम्भीररुपमा लिएको छ, सरकार तथा सम्बन्धित पक्षलाई समयमै स्ववियु निर्वाचन गर्न बैठकले ध्यानाकर्षण गरेको छ ।’

यस्ता गतिविधिलाई एमालेले देशमा कुनैपनि खालका निर्वाचन हुन नदिने षडयन्त्रकारुपमा लिएको ठहर गर्दै त्यस्ता निर्वाचनको सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ ।

बैठकले बुधबार (भोलि) दिउँसो १ बजेदखिे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने पार्टीको पोलिटब्यूरो बैठकको एजेन्डा पारित गरेको छ ।

बैठकमा पार्टी अध्यक्षको प्रतिवेदन तथा पार्टीको आन्तरिक अवस्था, देशको पछिल्लो राजनीतिक अवस्था, मेची–महकाली अभियान, निर्वाचनलगायतका विषयको एजेन्डा निर्धारण गरेको छ ।

एमालेले आगामी फागुन २१ गतेदेखि गर्ने मेची–महाकाली राष्ट्रिय जनअभियानलाई अनुमोदन गर्दै सशक्त पार्ने निर्णय गरेको छ ।

सो कार्यक्रमको उद्घाटन फागुन २१ गते झापाको काँकडभिट्टामा हुने तय भएको र त्यसका लागि पार्टीका कार्यकर्ता, मातहत कमिटी, जनसंगठनहरु र आमसमुदायलाई हार्दिक अपिल गरेको छ ।

तराई–मधेसका सबै जिल्लामा उक्त अभियान अगाडि बढाउने, फागुन २१ गतेदेखि सुरु हुने एमालेको मेची–महाकाली अभियानमा पार्टीले गर्ने आमसभा, र्‍याली, पार्टी प्रवेश, ज्येष्ठ नागरिक सम्मानजस्ता कार्यक्रमलाई बैठकले अनुमोदन गरेको छ ।

पार्टी अध्यक्ष ओलीको नेतृत्वमा बसेको बैठकमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, प्रदीप ज्ञवाली, भीम रावल, अमृत बोहरा, ईश्वर पोखरेललगायतका स्थायी कमिटीका अधिकांश नेताको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्