२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चुरेको विनास बढ्दै गएपछि संरक्षणमा चासो (भिडियो रिपोर्ट)


0
Shares

जिल्ला वन कार्यालयलेमात्र चुरेको बढ्दो विनास रोक्न नसक्ने भएपछि अरु सरोकारवालाहरुले संरक्षणमा चासो देखाउन थालेका हुन् ।

चुरेको वन विनास बढेसँगै बाराका सबैजसो राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, वन उपभोक्ता समिति र पत्रकारले संरक्षणमा चासो देखाएका छन् ।

केही दिनयता चुरे क्षेत्र स्थलगत अवलोकन गरी बढ्दो चुरे विनास रोक्न सरोकारवालाले चासो देखाएका हुन् ।

बाराको अमलेखगन्ज, चकरी, डम्मरपुर, भक्तलाललगायतका वासिन्दा चुरेकै जैविक र प्राकृतिक वस्तुमाथि आश्रित छन् । स्थानीयले आफ्नो जीवनाधार नै चुरेलाई बनाइदिँदा चुरे झन्–झन् कमजोर बनेको स्थलगत अवलोकनपछि सरोकारवालाहरुले निष्कर्ष निकालेका छन् ।

बढ्दो मानवबस्तीसँगै चुरे वनबाट दैनिक ठूलो मात्रामा ढुंगा, गिटी उत्खनन् गरेपछि पहाड स्खलित बन्दै जाँदा कयौं गाउँ जोखिममा छन् ।

चुरेको व्यापक दोहन गरी ढुंगा, गिटी, बालुवा निकाल्दा वर्षात्मा नदीले धार परिवर्तन गरी गाउँ नै डुबानमा पर्ने गरेका छन् । यसले चुरे आफैं पनि कमजोर बन्दै गएको छ ।

बाराको १२ हजार हेक्टर वनमध्ये ७ सय हेक्टर अतिक्रमणमा परेकाले त्यसलाई रोक्न तत्काल आवश्यक कदम चाल्नुपर्ने जिल्ला वन कार्यालयका सहायक वन अधिकृत विन्देश्वर पटेल बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।